बैतडी । २१ वर्षीया माया लुहारको हत्यामा संलग्न सशस्त्र प्रहरी जवान भरतराम कोलीलाई महेन्द्रनगरबाट पक्राउ गरिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
सुदूरपश्चिमको बैतडीको शिवनाथ गाउँपालिका–६ बालाडाङ्गामा लुहारको धारिलो हतियार प्रहार गरी हत्या गरिएको थियो ।
आइतबार बिहान महेन्द्रनगर बजारमा हिँडिरहेको अवस्थामा कोलीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका इन्स्पेक्टर पुष्कर पन्तले जानकारी दिए । उनलाई बैतडी प्रहरीको जिम्मा लगाइने पन्तले बताए ।
जिल्लाको पञ्चेश्वर गाउँपालिका-४ सैलोडा निवासी लुहार मंगलबारदेखि बेपत्ता भए पनि बालडांगाको शिव मन्दिर नजिकै मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । पीडितसँगै गएकी १५ वर्षीया नेहा लुहार घाइते अवस्थामा फेला परेकी छन् ।
यस सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीको भनाइ छ ।