प्रधानमन्त्री शेरबहादुर देउवाले संघीयताको सफल कार्यान्वयनका लागि सबै तहका सरकारलाई एकजुट हुन आह्वान गरेका छन् ।
नेपाल गाउँपालिका राष्ट्रिय संघको आइतबार काठमाडौंमा आयोजित तेस्रो राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै देउवाले सो कुरा बताएका हुन् । देउवाले संघीय, प्रदेश र स्थानीय तहको निर्वाचन निष्पक्ष रुपमा सम्पन्न भएकाले अब नागरिकलाई सुशासन र विकासको अनुभूति गराउने कामलाई प्राथमिकता दिनुपर्ने बताए ।
देउवाले संघीयताको सफल कार्यान्वयनका लागि स्थानीय तहलाई सशक्त बनाउन कानून निर्माणमा ढिलाइ गर्न नहुने स्पष्ट पारे । सार्वजनिक सुनुवाइ, जनसभा, जनसहभागिता, घरदैलो सेवालगायतका सबै सार्वजनिक सेवालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्नेमा पनि देउवाले जोड दिए ।
उनले स्थानीय जनप्रतिनिधिलाई भ्रष्टाचारमुक्त नीतिका साथ अगाडि बढ्न आग्रह समेत गरे । देउवाले मुलुकमा विद्यमान गरिबी, बेरोजगारी, सामाजिक अन्धविश्वास र अन्यायको अन्त्य गर्न स्थानीय तहको आर्थिक विकासका विविध कार्यक्रम सञ्चालन गर्न सक्ने क्षमता अभिवृद्धि गर्न सबै पक्षलाई लाग्नुपर्ने बताए ।