बंगलादेशको राजधानी ढाकामा आयोजना हुने अण्डर २३ अन्तर्राष्ट्रिय पुरुष भलिबल च्याम्पियनसिपमा सहभागी हुन नेपाली भलिबल टोली आज बंगलादेश प्रस्थान गरेको छ ।
डिसेम्बर २२ देखि २६ गतेसम्म आयोजना हुने प्रतियोगितामा आयोजक बंगलादेश, नेपाल, किर्गिस्तान र श्रीलंका गरी चार देशको सहभागिता रहेको छ । प्रतियोगितामा जम्मा चार टोलीले खेल्ने भएकाले सबै टोली सेमिफाइनलमा पुगेका छन् । टोलीले राउण्ड रोबिन लिगका आधारमा खेल्नेछन् ।
च्याम्पियनसिपको उद्घाटन खेल २२ डिसेम्बरमा हुनेछ । यस खेलमा नेपाल र बंगलादेश भिड्नेछन् । नेपालले आफ्नो दोस्रो खेल डिसेम्बर २३ मा श्रीलंकासँग र अन्तिम खेल डिसेम्बर २४ मा किर्गिस्तानसँग खेल्नेछ ।
नेपाली टोलीमा रवि केसी, सन्तोष खत्री, धिरोजकुमार बस्नेत, अर्जुन नेपाली, रुपबहादुर गुरौ, विष्णु बस्नेत, सन्तोष महता, सफल विक, मनिष मानन्धर, हेमन्त मल्ल, देवप्रकाश जोशी, सम्राट भण्डारी, गौरब पाण्डे र भीम गुरुङ रहेका छन् । ।
मुख्य प्रशिक्षकमा जगदीशप्रसाद भट्ट र सहायक प्रशिक्षकमा भरत यादव रहेका छन् ।
प्रतियोगिताको फाइनल खेल डिसेम्बर २६ मा हुनेछ ।