पोखरा । प्रधानमन्त्री पुष्पकमल दाहालले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण छिट्टै सुरु हुने बताएका छन् ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको आज यहाँ उद्घाटन गर्दै उनले नेपालजस्तो भूपरिवेष्ठित मुलुकमा सम्पर्कका लागि हवाईमार्ग सबैभन्दा प्रभावकारी माध्यम भएको र त्यसका लागि निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण आवश्यक रहेको बताए ।
‘अन्तर्राष्ट्रिय क्षेत्रसँग अन्तर्रा्ष्ट्रिय सम्पर्क स्थापित गर्दै पोखरामा देशको तेस्रो अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको छ,’ प्रधानमन्त्री दाहालले पोखरा विमानस्थल निर्माणका लागि चिनियाँ राजदूतावासमार्फत तथा चिनियाँ राष्ट्रपति सी जिनपिङसँग प्रत्यक्ष भेटेर पनि छिटो निर्माणका लागि आफूले पहल गरेको बताए ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको परिकल्पना गर्ने व्यक्ति शंकरराज पाठक आफ्नो शिक्षक भएको बताउँदै उनले उनको प्रशंसा गरे ।
कार्यकारी प्रमुखले रेल सेवालगायतका आयोजना निर्माणमा सहयोग गर्न र पारवहन नाका खोलेर व्यापार सहज बनाउन चीन सरकारलाई आग्रह गरे ।
उनले पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनले गण्डकी प्रदेशसहित सिंगो राष्ट्रको आर्थिक विकासमा टेवा पुग्नेमा दुई मत नहुने बताए ।
‘म गण्डकी प्रदेशबाट चुनाव जितेर प्रधानमन्त्री बनेको छु । गण्डकीवासीले तेस्रो पटक प्रधानमन्त्री बनेर राष्ट्रको सेवा गर्ने अवसर दिएको छ, त्यसका लागि म उहाँहरूलाई धन्यवाद दिन चाहन्छु,’ प्रधानमन्त्री दाहालले भने ।
प्रधानमन्त्री दाहालले सामाजिक न्याय, सुशासन र जनताको समृद्धिलाई मुख्य नाराका रुपमा लिएर आफ्नो नेतृत्वमा सरकारले काम गर्ने बताए ।
‘लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि यसअघि पनि मैले नेतृत्वदायी भूमिका निर्वाह गरेको छु । अब आर्थिक विकास, समृद्धि र सुशासनको प्रवर्द्धनमार्फत देशलाई विकासको बाटोमा लैजानेछु ।” उसले भन्यो। (RSS)