काठमाण्डौ । प्रभु बैंक र सेञ्चुरी बैंकको एकीकृत कारोबार पुस २६ गतेदेखि सुरू भएको छ ।
प्रभु बैंक लिमिटेडको नाममा एकीकृत कारोबारको शुभारम्भ गरिएको हो। प्रभु बैंकले सेञ्चुरी बैंकलाई १ः१ को स्वाप रेसियामा प्राप्त गरेको हो।
एकीकृत कारोबार कार्यक्रममा बोल्दै प्रभु बैंकका पूर्व अध्यक्ष तथा प्रतिनिधि सभा सदस्य देवी प्रकाश भट्टचनले मर्जरपछि प्रभु बैंकले ठूलो ग्राहकलाई सहज रुपमा कर्जा प्रवाह गर्ने बताए । बैंकले ७ अर्बसम्म एकल कर्जा दिन सक्ने उनले बताएका छन् ।
बैंकका सीईओ अशोक शेरचनले प्रतिबद्धता व्यक्त गर्दै भने, ‘अनगिन्ती सम्भावनाहरुलाई सार्थकता प्रदान गर्दै आजदेखि हामी फेरि अर्को एउटा सम्भावनाको सहयात्रीलाई आफूमा समाहित गरेका छौँ। आजदेखि हामी अझ बृहत् र परिस्कृत स्वरुपमा यहाँहरुको उन्नति, प्रगति, आरोह–अवरोह एवं सफलता र समृद्धिको साक्षी बन्ने प्रण गर्दछौँ।’
प्रभु बैंक र सेञ्चुरी बैंकबीच स्वाप रेसियो १ः१ अनुपातमा मर्ज हुने भएका हुन् । अर्थात् मर्जर पश्चात् सेञ्चरी बैंकको १ सय कित्ता सेयर हुने सेयरधनीहरूले प्रभु बैंकको पनि १ सय कित्ता नै सेयर पाउनेछन् ।
मर्जर पश्चात् बैंकको चुक्ता पूँजी २३ अर्ब ५२ करोड रुपैयाँ पुगेकाे छ । हाल प्रभु बैंकको चुक्ता पुँजी १३ अर्ब ५३ करोड र सेञ्चरी बैंकको १० अर्ब रूपैयाँ छ ।