काठमाडौं । रसुवागढी नाका माघ २० गतेसम्मका लागि बन्द भएको छ ।
चिनियाँ नयाँ वर्षका कारण चीनले नाका बन्द गरेको हो।
रसुवा भन्सार कार्यालयका सूचना अधिकारी भरतराज अधिकारीका अनुसार शुक्रबारदेखि माघ २० गतेसम्मका लागि नाका बन्द गरेको हो।
रसुवागढी–केरुङ नाकाबाट हुने व्यापारमा पनि चीनले लामो समय रोक लगाएको थियो । कोभिड महामारीपछि ठप्प प्रायः रहेको उक्त नाका गत पुस दोस्रो साताबाट खुलेको थियो तर व्यापारमा भने उल्लेख्य सुधार देखिँदैन । रसुवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत नारायणप्रसाद भण्डारीका अनुसार करिब एक महिना अवधिमा नेपालबाट ३९ कन्टेनर सामान चीन निर्यात भएको छ । “नेपालबाट अहिलेसम्म करिब छ करोड बराबरको ३९ कन्टेनर सामान चीनतर्फ गएको छ । चीनबाट भने दैनिक १४ कन्टेनर सामान नेपाल आउने गरेकोमा आजबाट त्यो पनि बन्द भएको छ”, भन्सार अधिकृत भण्डारीले भन्नुभयो ।
चीनले नयाँ वर्षका लागि भनेर आगामी फेब्रुअरी ३ सम्म नाका बन्द गरेको उहाँले जानकारी दिनुभयो ।
कोरोना महामारीका कारण २०७६ माघ २५ देखि २०७७ जेठ २२ सम्म रसुवागढी नाका बन्द भएको थियो। चीनबाट रेडिमेट, इलेक्ट्रोनिक, जलविद्युत् आयोजनाका सामग्री, टेलिकमका सामग्री र फलफूल आयात हुँदै आएको छ।
अन्य नाका अध्ययनमा मात्रै सीमित
तातोपानी र रसुवागढीबाहेक अन्य वैकल्पिक नाका खोल्नका लागि सम्भाव्यता अध्ययन गर्न नेपाल र चीनबीच सात वर्षअघि सम्झौतापत्रमा हस्ताक्षर भइसकेको छ । नेपाल–चीन द्विपक्षीय व्यापारका लागि विभिन्न सात वटा ठाउँमा नाका खुलाउन सम्भाव्यता अध्ययनका लागि २०७२ कात्तिक १९ गते दुई देशबीच सहमति भएको थियो ।
ताप्लेजुङको ओलाङचुङ्गोला, संखुवासभाको किमाथाङ्का, मुस्ताङको कोरला, गोरखाको लार्के, दोलखाको लामाबगर, हुम्लाको यारी र मुगुमालाई सञ्चालनमा ल्याउन सम्भाव्यता अध्ययन गरिने समझदारीमा उल्लेख छ । सम्झौता अनुसार नाका सञ्चालनको सम्भाव्यता अध्ययन भने हुन सकेको छैन । नाका सञ्चालनका लागि सडक सञ्जाल र भौतिक पूर्वाधार जोड्न आवश्यक भएकाले त्यस्ता पूर्वाधार निर्माणका लागि पहल भएको छैन ।