काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ परेको विषयमा आफ्नो धारणा सार्वजनिक गरेको छ ।
रास्वपाका महामन्त्री डा. मुकुल ढकालले एक विज्ञप्ति जारी गर्दै नाफामूलक निजी व्यवसाय गर्ने व्यक्ति र समाचार लेख्ने श्रमजीवी पत्रकार एकै होइनन् भन्दै अदालतको अनुमति लिएर पर्याप्त आधारसहित अनुसन्धान गरिनु प्रेस स्वतन्त्रताको हनन नभएको बताएको छ ।
‘अदालतको अनुमति लिएर पर्याप्त आधारसहित अनुसन्धान गरिनु प्रेस स्वतन्त्रताको हनन होइन ।’, उनले भने । सिरोहिया पक्राउबारे स्पष्ट उल्लेख नगरे पनि ‘सञ्चार माध्यमहरू लोभ, त्रास र सौदाबाजीको अस्त्र बने भने राज्य जाग्नुपर्छ भन्ने सन्देश जनतामा जाओस्’ भनेका छन् ।
विज्ञप्तिमा थप भनिएको छ – ‘कानुन भन्दामाथि कोही हुँदैन । जो जतिसुकै शक्तिशाली भए पनि कानुनको पालना सबैले गर्नै पर्छ भन्ने मान्यता स्थापित हुनु लोकतन्त्रको जीत हो । कोही-कोहीलाई छुनै हुन्न भन्नु सामन्ती कायरता हो । यस्ता पूर्वाग्रहकै बलमा मुलुकको राजनीतिक प्रणाली विकृत हुँदै गएको कुरामा राष्ट्रिय स्वतन्त्र पार्टी स्पष्ट छ । ’