काठमाण्डौ । सरकारी वार्ता टोली र अनसनरत रुवी खान नेतृत्वको वार्ता टोलीबीच पाँच बुँदे सहमति भएको छ ।
उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेको निर्देशनपछि गृह मन्त्रालयमा हिजो भएको वार्तामा खान नेतृत्वको टोलीसँग सरकारी वार्ता टोलीले पाँचबुँदे सहमति गरेको हो ।
बाँकेमा निर्मला कुर्मी र सुमदरानी थारुले ज्यान गुमाएको घटनामा विभिन्न माग राखी खानको नेतृत्वमा अनसन हुँदै आएको थियो । सहमतिपत्रमा निर्मला कुर्मीको अपहरण, शरीर बन्धक तथा कर्तव्य ज्यानसम्बन्धी जाहेरीसँग सम्बन्धित अनुसन्धानलाई प्राथमिकताका साथ यसअघि गठित विभिन्न छानबिन समितिका प्रतिवेदनसमेतको अध्ययन/विश्लेषण गरी कानुनबमोजिम निरुपण गर्न नेपाल प्रहरी प्रधान कार्यालयमार्फत जिल्ला प्रहरी कार्यालय, बाँकेलाई लेखी पठाउने उल्लेख छ ।
यस्तै सुमदरानी थारुको घटना सम्बन्धमा बाँके जिल्ला अदालतबाट पक्राउ अनुमति लिइएका आरोपितलाई तत्काल पक्राउ गरी कानुनी दायरामा ल्याउन भइरहेका काम कारबाहीमा पीडितलाई कानुनबमोजिम दिन मिल्ने प्रगति ब्यहोरा अद्यावधिक गराइदिन नेपाल प्रहरी प्रधान कार्यालयमार्फत् जिल्ला प्रहरी कार्यालय, बाँकेलाई लेखी पठाउने सहमति भएको छ ।
यस्तै बाँके जिल्ला प्रहरी कार्यालयबाट भइरहेको अनुसन्धानलाई प्रभावकारी बनाउन गर्नुपर्ने सहजीकरण, नियमित सुपरीवेक्षण तथा निगरानी गर्न नेपाल प्रहरी प्रधान कार्यालय, अपराध अनुसन्धान विभागलाई लेखी पठाउने, यसमा आन्दोलनरत पक्ष र निजको परिवारको उचित एवम् प्रभावकारी सुरक्षा व्यवस्था मिलाउन जिल्ला प्रशासन कार्यालय, बाँकेमा लेखी पठाउने सहमतिपत्रमा उल्लेख छ ।
साथै जारी अनसनरत अन्त्य गर्ने सहमति भएको गृहमन्त्रीको सचिवालयले जानकारी दिएको छ । गृहमन्त्री लामिछानेले जुस खुवाएर खानले अनसनसमेत तोड्नुभएको छ ।