काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का जिल्ला अध्यक्षहरुको भेला आज (बिहिबार)देखि काठमाडौँमा सुरु भएको छ ।
राप्रपाका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनले बिहिबार धुम्बाराहीस्थित एक पार्टी प्यालेसमा उक्त भेलाको उद्घाटन गरेका थिए ।
पार्टीका प्रवक्ता मोहनकुमार श्रेष्ठका अनुसार भोलिसम्म चल्ने उक्त भेलामा देशका ७७ वटै जिल्ला अध्यक्षहरुको सहभागिता रहेको छ ।
बैठकमा जिल्ला अध्यक्षहरुले आफ्नो जिल्लाको साङ्गठनिक प्रतिवेदन पेस गर्ने कार्यक्रम रहेको छ । पार्टीको समग्र साङ्गठनिक अवस्थाको समीक्षा गरिने, विगतका निर्वाचनका कमी कमजोरीको समीक्षा गर्दै आगामी रणनीति तय गरिने जनाइएको छ ।
त्यस्तै पार्टीले लिएका नीति र यसले पार्टी पङ्क्ति र जनसमुदायमा पारेको प्रभावको विश्लेषण गरिने प्रवक्ता श्रेष्ठले बताउनु भयो ।
पार्टीको केन्द्रीय कार्यसमिति बैठकले आगामी वैशाख मसान्तसम्म स्थानीय तहको अधिवेशन गरिसक्ने लक्ष्य लिएकोले सबै तहको अधिवेशन सम्पन्न गर्ने, साथै विसं २०८४ मा हुने तीन तहकै निर्वाचन तयारीका लागि रणनीति तय गर्ने विषयमा छलफल हुने प्रवक्ता श्रेष्ठले जानकारी दिए ।