चितवन । बजारमा अण्डाको मूल्यमा भारी गिरावट आएको छ ।
नेपाल लेयर्स कुखुरा पालक सङ्घले सोमबारदेखि लागू हुने गरी सार्वजनिक गरेको नयाँ समर्थन मूल्य अनुसार अण्डाको मूल्यमा उल्लेख्य कमी आएको हो।
नयाँ कायम भएको मूल्य:
-
ठूलो अण्डा (Large): प्रतिक्रेट रु. ३७५
-
मध्यम अण्डा (Medium): प्रतिक्रेट रु. ३३५
यसअघि गत मङ्सिर महिनामा अण्डाको मूल्य अहिलेसम्मकै उच्च प्रतिक्रेट ५६५ रुपैयाँ पुगेको थियो। मङ्सिरको तुलनामा अहिले प्रतिक्रेट १९० रुपैयाँसम्मले मूल्य घटेको देखिन्छ।
किन घट्यो मूल्य?
सङ्घका अनुसार नेपालमा अण्डाको आन्तरिक उत्पादन बढ्नु र छिमेकी राष्ट्र भारतबाट सस्तो मूल्यका सेतो अण्डा अनधिकृत रूपमा भित्रिनु नै मूल्य गिरावटको मुख्य कारण हो।
लागतभन्दा सस्तोमा बेच्न किसान बाध्य मूल्य घटेसँगै पोल्ट्री व्यवसायीहरू ठूलो घाटा व्यहोर्न विवश भएका छन्। हाल अण्डाको उत्पादन लागत प्रतिक्रेट करिब ५७४ रुपैयाँ पर्ने सङ्घको भनाइ छ। तर, बजारमा लागतभन्दा करिब २०० रुपैयाँ सस्तोमा अण्डा बिक्री गर्नुपर्ने बाध्यात्मक अवस्था आएपछि किसानहरू निराश बनेका छन्।
नेपाल लेयर्स कुखुरा पालक सङ्घले स्वदेशी लगानी र उत्पादन धराशायी हुन लागेको भन्दै भारतीय अण्डाको आयातमा तत्काल रोक लगाउन सरकारसँग जोडदार माग गरेको छ ।



