काठमाडौँ । भगवान् विष्णुको छैटौँ अवतारका रूपमा चिनिनुहुने परशुराम ऋषिको जन्मजयन्ती आज देशभर विभिन्न धार्मिक कार्यक्रमका साथ मनाइँदैछ ।
शास्त्रीय मान्यता अनुसार वैशाख शुक्ल तृतीयाका दिन साँझको समयमा उहाँको जन्म भएको मानिन्छ । अष्टचिरञ्जीवीमध्येका एक मानिनुहुने उहाँलाई ऋषि जमदग्नि र माता रेणुकाका पुत्रका रूपमा पौराणिक ग्रन्थहरूमा चित्रण गरिएको छ ।
धार्मिक आख्यान अनुसार परशुरामले आफ्ना पिता जमदग्निको आज्ञा पालना गर्न माता रेणुकाको वध गर्नुभएको थियो । पछि पिताले वर माग्न भन्दा उहाँले आफ्नी मातालाई पुनर्जीवन दिलाउनुका साथै आफूले आमा मारेको कुरा अरूले थाहा नपाऊन् भन्ने इच्छा व्यक्त गर्नुभएको थियो ।
पितृहत्याको बदला लिन परशुरामले २१ पटक पृथ्वीलाई क्षत्रीयविहीन बनाएको प्रसङ्ग पनि धर्मशास्त्रहरूमा उल्लेख छ । तत्कालीन समयमा शासकहरूमा अहङ्कार बढेको र साधुसन्तमाथि अन्याय हुन थालेपछि दुर्जनको नाश र सज्जनको रक्षाका लागि विष्णुले परशुराम अवतार लिनुभएको धर्मशास्त्रविद्हरूको भनाइ छ ।
विशेष गरी राजा कार्तवीर्य र उनका सन्तानको अन्त्य गरी संसारमा धर्म स्थापना गर्न उहाँको भूमिका महत्वपूर्ण मानिन्छ ।



