काठमाडौँ । हिन्दू धर्मावलम्बीहरूले आज साहस र शक्तिका प्रतीक मानिने रामभक्त हनुमानको जन्मजयन्ती श्रद्धापूर्वक मनाइरहेका छन् । हरेक वर्ष चैत्र शुक्ल पूर्णिमाको तिथिमा हनुमानको जन्मोत्सव मनाउने परम्परा अनुसार देशभरका मठ–मन्दिरमा भक्तजनको चहलपहल बढेको छ ।
हनुमानको उपासना गर्दा शारीरिक बल, बौद्धिक क्षमता र आध्यात्मिक ज्ञान प्राप्त हुने धार्मिक विश्वास छ । खासगरी सङ्कट र दुःखबाट मुक्तिका लागि हनुमान चालिसाको पाठ गर्ने र विशेष पूजा गर्ने चलन छ । यस पावन अवसरमा काठमाडौँको हनुमानढोका, पशुपति क्षेत्र, गोकर्णेश्वरको पञ्चमुखी हनुमान मन्दिर लगायत मुलुकभरका देवालयहरूमा बिहानैदेखि दर्शनार्थीहरूको भीड लागेको छ । कतिपय स्थानमा हनुमानको मूर्तिसहितका शोभायात्राहरू समेत निकालिएका छन् ।
पौराणिक मान्यता अनुसार हनुमानकी माता अञ्जना र पिता केशरी हुन् । भगवान् शिवको वरदान र वायु देवताको ऊर्जाबाट अञ्जनाको गर्भबाट हनुमानको जन्म भएको मानिने हुनाले उनलाई ‘पवनपुत्र’ वा ‘अञ्जनीपुत्र’ पनि भनिन्छ । रामायणका प्रमुख पात्र हनुमानलाई उनको निस्वार्थ भक्ति, अतुलनीय बल र दयालु स्वभावका कारण अत्यन्तै लोकप्रिय देउताका रूपमा पुजिन्छ ।



