मान्मा । बालविवाह न्यूनीकरण गर्न कालिकोटको खाँडचक्र नगरपालिका वडा नम्बर १ ले २० वर्ष पुगेपछि विवाह गर्ने दलित युवतीलाई १० हजार रुपैयाँ दिने घोषणा गरेको छ ।
बालविवाह विरुद्धको सामूहिक अभियान कालिकोटका जिल्ला संयोजक खादानन्द अधिकारीले उक्त घोषणाले बालविवाह न्यूनीकरणमा केही हदसम्म सहयोग पुग्ने बताए । “अझै पनि धेरै ठाउँमा बालविवाह व्याप्त छ। जिल्लाभर बालविवाह विरुद्धको अभियान आवश्यक छ,” उनले भने।
वडाध्यक्ष धर्मराज ताम्राकारले पनि बालविवाह न्यूनीकरणमा यो घोषणाले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।
त्यस्तै उपमेयर गणेशबहादुर शाहीले नगरपालिकाले विशेषगरी विद्यालयमा सचेतनामूलक कार्यक्रम सञ्चालन गरेको बताए । ‘एउटै वडामा नयाँ योजना ल्याइएको छ, जसलाई क्रमशः अन्य वडामा पनि विस्तार गरिने छ’, उनले भने । (RSS)