काठमाडौँ । प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीका दिन मनाइने आयुर्वेद चिकित्साशास्त्रका प्रवर्तक भगवान् धन्वन्तरीको अवतार जयन्तीका साथै देशभर विभिन्न कार्यक्रम गरी राष्ट्रिय आरोग्य दिवससमेत मनाइँदैछ ।
पुराणहरूमा उल्लेख भए बमोजिम देव र असुरहरू मिलेर समुद्र मन्थन गर्ने क्रममा विभिन्न बस्तुको प्रादुर्भाव हुने बेलामा अमृतको कलश लिएका भगवान् विष्णुको अंशका रूपमा आजको दिन धन्वन्तरिको प्रादुर्भाव भएको थियो। यसै मान्यता अनुसार आजको दिन धन्वन्तरि जयन्ती मनाउने गरिन्छ भने धन्वन्तरि लाई अयुर्बेदको प्रवर्तक को रूपमा पनि उल्लेख गरिएको छ ।
त्यसैले वैद्य-हकिम लगायत ब्राह्मण समाजले यस शुभ तिथिमा भगवान् धन्वन्तरिको पूजा गरी ‘धन्वन्तरि जयन्ती’ मनाउने गर्छन् । आयुर्वेदका पिता धन्वन्तरिको सम्झनामा धनतेरस मनाइन्छ भन्ने कुरा कमैलाई मात्र थाहा हुन् सक्छ । उनले नै शल्यक्रिया जस्तो जटिल र महत्त्वपूर्ण आविष्कार गरेको मानिन्छ। त्यसै कारण आयुर्वेदका विद्यार्थीहरूले यो दिन “आरोग्य दिवस” को रूपमा मनाउँछन् ।
आजको दिनलाई आयुर्वेदका चिकित्सकहरुले सत्सङ्कल्प गरी शुभकार्य प्रारम्भ गर्ने अवसरका रुपमा लिने गर्छन् । काठमाडौँको नरदेवीमा आयुर्वेद क्याम्पसको स्थापना भएपछि नेपालमा विधिवत् धन्वन्तरी जयन्ती मनाउन थालिएको थियो । त्यसबेला राजकीय आयुर्वेद महाविद्यालयका नाममा स्थापना भएको आयुर्वेद क्याम्पस आयुर्वेद अस्पतालको शिक्षण अस्पतालका रुपमा सञ्चालनमा थियो ।
विसं २०२९ देखि भने त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान अन्तर्गत आङ्गिक क्याम्पसका रुपमा सञ्चालनमा रहेको छ । आयुर्वेद क्याम्पस हाल कीर्तिपुरमा सरेको छ । धन्वन्तरी जयन्ती एवं आरोग्यता दिवसका अवसरमा भगवान् धन्वन्तरीको पूजा आराधना हुने गर्छ । आयुर्वेद क्षेत्रका व्यक्तिहरुको पहलमा वि सं २०५६ देखि धन्वन्तरी जयन्तीको दिनलाई आरोग्यता दिवसका रुपमा पनि मनाउन थालिएको हो । हातमा वैदिक हिन्दू दर्शनका चार उपवेद मध्येको आयुर्वेदको पुस्तक र प्रकृतिले दिएको औषधीको प्रतीकका रुपमा जडिबुटी लिएका भगवान् धन्वन्तरीलाई आयुर्वेद चिकित्सा क्षेत्रका संस्थापक मानिन्छ ।
धन्वन्तरी जयन्तीका अवसरमा आज सिंहदरबार वैद्यखाना विकास समिति, आयुर्वेद अस्पताल नरदेवी, आयुर्वेद क्याम्पस कीर्तिपुर, नेपाल संस्कृत विश्वविद्यालयको आयुर्वेद क्याम्पस दाड., जडिबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेड कोटेश्वर र निजी क्षेत्रबाट खुलेका आयुर्वेद अस्पतालहरुमा समेत विविध कार्यक्रम गरी मनाइँदै छ ।
कोरोना भाइरस एवं डेङ्गु रोगबाट बच्न मानव शरीरमा रोग प्रतिरोधी क्षमता बढाउन समेत आयुर्वेद चिकित्सा पद्धति प्रभावकारी प्रमाणित भएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले कोरोना भाइरसको उपचारमा आयुर्वेद औषधिको प्रभावकारिताका विषयमा अनुसन्धान गरिरहेको जनाइएको छ । विगतको तुलनामा आयुर्वेदिक औषधिको माग चार गुणासम्म बढेको सिंहदरबार वैद्यखाना विकास समितिले जनाएको छ ।