काठमाडौँ । काठमाडौँको ऐतिहासिक टुँडिखेलमा आज आयोजित विशेष समारोहमा सहभागी हुँदै प्रधानमन्त्री सुशीला कार्कीले घोडेजात्रा पर्वको अवलोकन गर्नुभएको छ । नेपाली सेनाले हरेक वर्ष चैत्र कृष्ण औँसीका दिन आयोजना गर्ने यस सांस्कृतिक उत्सवमा प्रधानमन्त्रीको विशेष उपस्थिति रहेको थियो ।
समारोहमा सेनाको क्याभलरी टोलीले साहसिक घोडा दौड र विभिन्न प्रकारका अश्वकलाहरू प्रदर्शन गरी दर्शकहरूलाई मन्त्रमुग्ध पारेका थिए । घोडाका अतिरिक्त , भैरव वाहन गुल्मका तालिमप्राप्त कुकुरहरूले देखाएको रोचक र अनुशासित कलाहरू कार्यक्रमको मुख्य आकर्षण बनेको थियो ।
जात्रा अवलोकनका लागि सैनिक मञ्चमा जीवित देवी कुमारीका साथै राष्ट्रपति , उपराष्ट्रपति र उच्च पदस्थ सरकारी अधिकारीहरूको उपस्थिति रहेको थियो । नेपालस्थित विभिन्न देशका कूटनीतिज्ञहरूले पनि यस मौलिक नेपाली संस्कृतिको चासोका साथ अवलोकन गरेका थिए ।
सो अवसरमा प्रधानमन्त्री कार्कीले समारोहमा सञ्चालित विभिन्न प्रतियोगिताका विजयीहरूलाई मेडल तथा पुरस्कार प्रदान गर्दै हौसला बढाउनुभएको थियो । उपत्यकाको लोकविश्वास र सांस्कृतिक पहिचानसँग जोडिएको यो जात्राले आज काठमाडौँको माहोल निकै उत्सवमय बनाएको थियो ।



