काठमाडौँ । पौष शुक्ल पूर्णिमाका दिनबाट श्री स्वस्थानी माताको महिमा वर्णन गर्ने कथाहरुको वाचन आज विधिवतरुपमा समापन भएको छ । एक महिनासम्म चल्ने स्वस्थनी व्रतकथा आज माघ शुक्ल पूर्णिमाका दिनबाट व्रत समाप्त हुन्छ ।
माघ शुक्ल पूर्णिमाको पावन अवसरमा व्रतालुहरूले त्रिवेणीधाममा पवित्र स्नान गरी माधवनारायणको विधिपूर्वक पूजा अर्चना गरेसँगै यो वर्षको मेला र व्रत सकिएको हो ।
काठमाडौंमा अवस्थित शाली नदीमा एक महिनाबाट जारी स्वस्थानी मेला पनि आजैबाट समापन हुन्छ। पौराणिक कथनअनुसार हिमालय पर्वतकी छोरी पार्वतीले स्वस्थानी व्रत बसी महादेव स्वामी पाएको धार्मिक जनविश्वासका आधारमा यो व्रत बस्ने परम्परा रहिआएको छ ।
स्कन्द पुराणअन्तर्गतको केदार खण्डको माघ माहात्म्यमा कुमार र अगस्त्यबीच भएको संवादलाई स्वस्थानी कथाका रुपमा भन्ने र सुन्ने गरिन्छ ।
आज मध्याह्नकालपछि विधिपूर्वक पूजा लगाई व्रत समापन गरी रात्रिमा जाग्राम बसेर अर्को दिन बिहान फूलपाती नदीमा सेलाएपछि स्वस्थानी व्रत विधिपूर्व समापन हुन्छ ।



