काठमाडौँ । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढेर आए पनि नेपाल आयल निगमले स्वदेशी बजारमा तत्काल मूल्य नबढाउने निर्णय गरेको छ । भारतीय आयल कर्पोरेशन (आईओसी) बाट नयाँ मूल्य सूची प्राप्त भए पनि आम उपभोक्ताको आर्थिक भारलाई मध्यनजर गर्दै निगमले हालको बिक्री मूल्यलाई नै निरन्तरता दिने भएको हो ।
निगमलाई फागुन १६ गते प्राप्त नयाँ खरिद मूल्यअनुसार प्रति लिटर पेट्रोलमा २.०९ रुपैयाँ, डिजेलमा २.४७ रुपैयाँ र हवाई इन्धनमा ५.९८ रुपैयाँले मूल्य बढेर आएको छ । त्यसैगरी, खाना पकाउने एलपी ग्याँसमा प्रति सिलिण्डर १८.५८ रुपैयाँले मूल्य वृद्धि भएको छ । मूल्य बढेर आए पनि निगम सञ्चालक समितिले साविकको खुद्रा बिक्री मूल्यलाई नै कायम राख्ने निर्णय गरेको हो ।
यस निर्णयसँगै काठमाडौँ उपत्यकामा पेट्रोलको मूल्य प्रति लिटर १५७ रुपैयाँ, डिजेल र मट्टीतेल प्रति लिटर १४२ रुपैयाँ र एलपी ग्याँस प्रति सिलिण्डर १९१० रुपैयाँमै उपलब्ध हुनेछ । निगमले हवाई इन्धन (अन्तर्राष्ट्रियतर्फ) को हकमा भने पोखरा र भैरहवा विमानस्थलका लागि ‘ब्रेकइभन प्वाइन्ट’ (नाफा नोक्सान बराबर हुने विन्दु) मा नयाँ बिक्री मूल्य कायम गरिएको जानकारी दिएको छ ।
अन्तर्राष्ट्रिय बजारमा इन्धनको भाउ उतारचढाव भइरहे पनि निगमले आफ्नो सञ्चित बचत र वित्तीय व्यवस्थापनबाट उपभोक्तालाई राहत दिन खोजेको देखिन्छ । यस कदमले बजारमा महँगी नियन्त्रण गर्न र सर्वसाधारणको दैनिकीमा केही सहजता ल्याउने अपेक्षा गरिएको छ ।



