काठमाडौँ । पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले नेपालको आम निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्राप्त गरेको ऐतिहासिक सफलताप्रति बधाई ज्ञापन गरेका छन् ।
प्रधानमन्त्री शरीफले सामाजिक सञ्जालमार्फत रास्वपाका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) लाई सम्बोधन गर्दै शुभकामना व्यक्त गरेका हुन् । उनले यो चुनावी नतिजालाई नेपाली जनताले नयाँ, ऊर्जावान् र गतिशील नेतृत्वप्रति देखाएको अपार विश्वासको प्रतिविम्बका रूपमा चित्रण गरेका छन् ।
आफ्नो सन्देशमा शरीफले नेपाल र पाकिस्तानबीचको दशकौँ लामो ऐतिहासिक सम्बन्धलाई स्मरण गर्दै आगामी दिनमा नयाँ सरकारसँग निकट रहेर काम गर्ने इच्छा व्यक्त गरेका छन् । उनले दुई देशबीचको मित्रता, आपसी हित र क्षेत्रीय सहकार्यलाई अझ सुदृढ बनाउने पाकिस्तानको प्रतिबद्धता रहेको समेत उल्लेख गरेका छन्।
यसअघि पनि छिमेकी मुलुकहरूबाट रास्वपाको उदय र बालेन शाहको राजनीतिक यात्रालाई लिएर सकारात्मक प्रतिक्रियाहरू आउने क्रम जारी छ । पाकिस्तानका प्रधानमन्त्रीको यो बधाई सन्देशले नयाँ सरकार गठन हुनुपूर्व नै नेपालको नयाँ राजनीतिक नेतृत्वसँग अन्तर्राष्ट्रिय समुदायले सहकार्य गर्न चाहेको सङ्केत गरेको छ ।



