काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सार्वजनिक निजी साझेदारी अन्तर्गत निर्माण गरिएका २५ वटा बस बिसौनीका विज्ञापन सामग्री हटाएको छ ।
त्रिलोक संरचना प्रालिले ३९ वटा बस बिसौनी निर्माण गरी विज्ञापन राख्दै आएकोमा सम्झौता बमोजिमको कर नबुझाएपछि महानगरले यो कदम चालेको हो ।
महानगरका अनुसार कम्पनीले विज्ञापन करको वृद्धि भएको दर अनुसार रकम बुझाउन पटक-पटक गरिएको पत्राचारलाई बेवास्ता गर्दै आएको थियो । हालसम्म उक्त कम्पनीले महानगरलाई १६ लाख १३ हजार २२४ रुपियाँ बुझाउन बाँकी रहेको पाइएको छ । राजस्व विभागको पत्रका आधारमा महानगर प्रहरी बलले सोलारसहितका ती विज्ञापन बोर्डहरू हटाउन थालेको हो ।
महानगर प्रहरी बलका प्रमुख विष्णुप्रसाद जोशीले विज्ञापन बोर्ड हटाउने कार्यलाई निरन्तरता दिइने जानकारी दिनुभएको छ । विज्ञापन करको दर प्रति स्क्वायर फिट ७ सय रुपियाँबाट बढेर १ हजार रुपियाँ पुगे पनि निर्माण पक्षले वृद्धि भएको रकम बुझाउन आनाकानी गरेपछि महानगरले कडा कदम चालेको हो ।



