काठमाडौँ । धरहरा क्षेत्रको पार्किङ व्यवस्थापनको सम्पूर्ण जिम्मेवारी अब काठमाडौँ महानगरपालिकाले लिएको छ । मन्त्रिपरिषद्को निर्णय बमोजिम महानगरले गएको फागुन १० गतेदेखि यो जिम्मेवारी सम्हालेको हो । हाल नगर प्रहरी बलले यसको सञ्चालन र सुरक्षाको काम गरिरहेको छ भने विशेष कुरा के छ भने अहिले यो पार्किङ सेवा पूर्णतः निःशुल्क रहेको छ ।
धरहराको नवनिर्मित संरचनामा बी–१ , बी–२ र बी–३ गरी तीन तहको बेसमेन्ट पार्किङको व्यवस्था गरिएको छ । जसअन्तर्गत बी–१ मा १२७ वटा चारपाङ्ग्रे गाडी , बी–२ मा झन्डै ७ सय वटा मोटरसाइकल र बी–३ मा १३५ वटा चारपाङ्ग्रे गाडी पार्किङ गर्न सकिने क्षमता रहेको छ । महानगरले यस क्षेत्रमा अपाङ्गमैत्री पार्किङको समेत विशेष व्यवस्था मिलाएको छ । यो पार्किङ क्षेत्र बिहान ८ बजेदेखि बेलुका ५ बजेसम्म खुला रहनेछ र हाललाई कुनै पनि शुल्क नलाग्ने भएकाले यसले सर्वसाधारणलाई ठूलो राहत दिने देखिएको छ ।
महानगरले धरहराको बेसमेन्टमा निःशुल्क पार्किङ सेवा सुरु गरेसँगै नजिकैका वसन्तपुर , विशालबजार , धर्मपथ र आसपासका फुटपाथ तथा सार्वजनिक सडकमा सवारी पार्किङ गर्न पूर्णतः निषेध गरिएको छ । सडकको ट्राफिक चाप घटाउन र पैदलयात्रीलाई हिँड्न सहज बनाउन यो कदम चालिएको महानगरको भनाइ छ । यद्यपि , पार्किङ स्थलमा राखिने सवारी साधनको सुरक्षाको जिम्मा भने स्वयं गाडीधनीकै हुने महानगरले स्पष्ट पारेको छ ।



