काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्धको सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराधसम्बन्धी अभियोगपत्र संशोधन गर्ने महान्यायाधिवक्ताको निर्णयविरुद्ध परेको रिटमा आज पनि सुनुवाइ हुने भएको छ । सर्वोच्च अदालतमा आइतबार र सोमबार भएको बहस नसकिएपछि यो मुद्दालाई ‘हेर्दाहेर्दै’ मा राखिएको थियो ।
न्यायाधीशद्वय शारङ्गा सुवेदी र सुनीलकुमार पोखरेलको इजलासमा सोमबार रिट निवेदक तथा सरकारी वकिलहरूले आ-आफ्नो बहस प्रस्तुत गरेका थिए । अधिवक्ता दिनेश त्रिपाठी र युवराज सफल लगायतले दायर गरेको यस रिटमा महान्यायाधिवक्ताको कार्यालयले गरेको अभियोग संशोधनको निर्णय बदर गर्न माग गरिएको छ । विपक्षीका रूपमा महान्यायाधिवक्ताको कार्यालय , विभिन्न सरकारी वकिलका कार्यालयहरू र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई राखिएको छ ।
रिट निवेदकहरूले लामिछानेविरुद्धको सहकारी ठगी , सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण सम्बन्धी अभियोगलाई कमजोर नबनाउन र कानुनी प्रक्रियामा कुनै पनि अवरोध नगर्न परमादेशको माग गरेका छन् । महान्यायाधिवक्ता सविता भण्डारीले गत पुस ३० गते लामिछानेमाथिको अभियोग संशोधन गर्ने निर्णय गरेकी थिइन् ।
आसन्न निर्वाचनलाई लक्षित गरी गरिएको उक्त निर्णयले लामिछानेलाई उम्मेदवारी दिन र निर्वाचित भएमा राजनीतिक अधिकार उपभोग गर्न सहज बाटो खुल्ने दाबी रिटमा गरिएको छ । आज हुने सुनुवाइले यो विवादित निर्णयका बारेमा सर्वोच्च अदालतबाट केही महत्त्वपूर्ण आदेश आउन सक्ने अपेक्षा गरिएको छ ।



