काठमाडौँ । पूर्व–पश्चिम राजमार्ग अन्तर्गतको नारायणगढ–बुटवल सडक खण्ड विस्तारमा भएको ढिलाइलाई लिएर गृहमन्त्री सुधन गुरुङले प्रत्यक्ष चासो देखाएका छन् ।
उक्त सडक खण्डको स्थलगत निरीक्षण गर्दै उनले निर्माणको जिम्मा पाएको चिनियाँ कम्पनीलाई कामको गति बढाउन निर्देशन दिएका हुन् । लामो समयदेखि सडक अलपत्र अवस्थामा रहँदा आम नागरिकले सास्ती खेप्नुपरेको र दुर्घटनाको दर समेत बढेको भन्दै उनले सरकारको गम्भीर ध्यानाकर्षण भएको बताए ।
निरीक्षणका क्रममा मन्त्री गुरुङले सडक निर्माणमा भइरहेको सुस्तता अब स्वीकार्य नहुने स्पष्ट पारेका छन् । उनले विकास निर्माणका कार्यमा हुने लापरबाहीले जनताको दैनिक जीवन र सुरक्षामा प्रत्यक्ष असर पारेको उल्लेख गर्दै गुणस्तरीय काम छिटो सक्न कडा निर्देशन दिए । गृह प्रशासनको तर्फबाट आवश्यक समन्वय र सहजीकरण गर्न तयार रहेको बताउँदै उनले ठेकेदार कम्पनीलाई जिम्मेवार बन्न आग्रह गरे ।
यसअघि पटक–पटक समय थपिँदा पनि काम सुस्त भएको गुनासो बढिरहेका बेला ठेकेदार कम्पनीका प्रतिनिधिहरूले भने नयाँ प्रतिबद्धता जनाएका छन् । चिनियाँ कम्पनीले अबको १५ दिनभित्र निर्माण कार्यलाई पूर्णता दिने विश्वास दिलाएको छ । कम्पनीका तर्फबाट प्रतिबद्धता आएपछि अबका केही साताभित्रै सडकको अवस्थामा सुधार आउने अपेक्षा गरिएको छ ।



