काठमाडौँ । सर्वोच्च अदालतले गगन थापाको नेतृत्वलाई आधिकारिकता प्रदान गरेसँगै नेपाली कांग्रेसभित्रको शक्ति सन्तुलनमा नयाँ मोड आएको छ ।
अदालतको यो फैसलापछि रक्षात्मक अवस्थामा पुगेको शेरबहादुर देउवा पक्ष आगामी रणनीतिका लागि आन्तरिक परामर्शमा सक्रिय भएको छ । पूर्व कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आफ्ना निकटवर्ती नेताहरूसँग नयाँ दल दर्ता गरेर अघि बढ्ने वा पार्टीभित्रै रहेर अस्तित्वको लडाइँ लड्ने भन्नेबारे गम्भीर छलफल थाल्नुभएको छ ।
यता, कानुनी रूपमा पार्टीको नेतृत्व सम्हाल्ने बाटो खुलेपछि गगन थापाले सम्पूर्ण नेता तथा कार्यकर्ताहरूलाई आगामी महाधिवेशनको तयारीमा जुट्न आह्वान गर्नुभएको छ । उहाँले कसैलाई पनि पक्षपात नगर्ने प्रतिबद्धता जनाउँदै पार्टी सुदृढीकरणका लागि एकजुट हुन सबैलाई आग्रह गर्नुभएको छ ।
तर, अर्को पक्षका नेता खड्काले भने यसअघि सम्पन्न विशेष अधिवेशनलाई स्वीकार नगर्ने आफ्नो पुरानो अडान छाड्नुभएको छैन । उहाँले कुनै पनि हालतमा विशेष अधिवेशनको वैधानिकता नमान्ने अडान राख्दै आफ्ना समर्थकहरूलाई सोही अनुसार निर्देशन दिइरहनुभएको बुझिएको छ ।
विशेष अधिवेशनपछि समानान्तर गतिविधि सञ्चालन गरेको आरोपमा पार्टीले खड्कालाई स्पष्टीकरणसमेत सोधिसकेको छ । जारी छलफलपछि आफ्नो समूहको आधिकारिक धारणा र भावी योजनाबारे छिट्टै विज्ञप्ति सार्वजनिक गर्ने तयारी खड्का पक्षले गरेको छ ।



