पोखरा । गण्डकी प्रदेश सरकारले करको दर घटाउने यसअघि गरेको निर्णय खारेज गर्ने निर्णय गरेको छ ।
यस अघि निर्वाचन आयोगले कार्तिक १६ गते प्रदेश सरकारलाई करको दर घटाउने निर्णय २४ घण्टाभित्र खारेज गर्न निर्देशन दिएको थियो
आइतबार बिहान ११ बजे मात्रै प्रदेश सरकारले पत्र पाएको बताइएको छ ।
प्रदेश सरकारले पत्र पाएलगत्तै सोमबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय खारेज गरेको हो । प्रदेश सरकारले यसबारे आजै निर्वाचन आयोगलाई जानकारी दिने तयारी गरेको छ ।
प्रदेश सरकारले असोज ७ गते बसेको मन्त्रिपरिषद् बैठकले करको दर घटाउने निर्णय गरेको थियो ।
प्रदेशका अर्थ सचिव बिदामा रहेकाले असोज २७ गते मात्रै उक्त निर्णय नेपाल राजपत्रमा प्रकाशित भएको थियो ।
निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लङ्घन गरी करको दर घटाएको विषयमा मुख्यमन्त्री, अर्थमन्त्री र अर्थसचिवसँग छुट्टाछुट्टै स्पष्टीकरण मागेको थियो ।