सोमवार मन्त्रालयबाट बिदाइ हुने क्रममा आयोजित पत्रकार सम्मेलनमा उहाँले नेपाल आइटी र शिक्षाको केन्द्र बन्न सबै किसिमबाट उपयुक्त भएको भन्दै देशलाई अबको ५ वर्षमा आइटी हबको रुपमा विकास गर्न जरुरी रहेको बताउनु भयो ।
उहाँले नेपाली युवायुवतीहरु विदेशिन बाध्य भएको भन्दै देशका युवायुवतीहरुलाई घर, परिवार र आफ्नै समाजमा बसेर विदेशी मुद्रा आर्जन गराउने आइटी हब नेपाललाई बनाउनुपर्ने बताउनु भयो ।
सरकारी, नीजि, अन्य क्षेत्रको कार्यसञ्चालन र सेवा प्रवाहमा मात्रै नभई, आम जनताको दैनिक क्रियाकलापसमेतमा सूचना प्रविधि अनिवार्य आवश्यकताको रुपमा स्थापित भइसकेको उनको भनाइ छ ।
मन्त्री कार्कीले भने, ‘आजको युग प्रविधिको युग हो, अन्य क्षेत्रमा भन्दा सूचना प्रविधिको क्षेत्रको तीव्र गतिले विकास भइरहेको छ, हिजोको दिनमा कल्पनानै नगरेका कुरा सूचना प्रविधिको कारण आज यथार्थमा परिणत भएको छ, सूचना प्रविधिको विकासले सम्पूर्ण विश्व एक गाउँको रुपमा स्थापित भएको छ ।’
उहाँले नेपाललाई आइटीको हब बनाउने कुरामा आफू सदैव सकारात्मक र सहयोगी हुने प्रतिवद्धतासमेत जनाउनु भयो । उहाँले आगामी ५ वर्षमा पूर्वाधार, जलश्रोतको विकास गरेर मुलुकले गति लिएको आभाष जनतालाई दिनुपर्ने बताउनु भयो ।
मन्त्री कार्कीले देशमै उपलब्ध स्रोत साधनको उपयोग गर्दै रोजगारीको सिर्जना गर्नुपर्नेमा जोड दिए । मन्त्री कार्कीले नेपाली साहित्य क्षेत्रले समृद्ध नेपाल निर्माणमा अझै सकारात्मक र सृजनात्मक भूमिका निर्वाह गर्नुपर्ने अपेक्षा गरे ।