प्रधानमन्त्री पुष्पकमल दाहालले उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेललाई आप्रवासी कामदारले स्वदेश फर्कने क्रममा ल्याएका मोबाइलमा कडाई नगर्न निर्देशन दिएका हुन्।
प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माका अनुसार प्रधानमन्त्रीले व्यक्तिगत प्रयोगका लागि विदेशबाट ल्याइएका मोबाइलमा विगतको व्यवस्था कायम गर्न सम्बन्धित निकायलाई निर्देशन दिनुभएको हो ।
विदेशबाट ल्याइएको मोबाइलमा १८ प्रतिशतसम्म कर लगाउने सरकारको निर्णयको नेपाली आप्रवासी कामदारले आलोचना गरेका छन् ।
सरकारले आजदेखि अनधिकृत रूपमा आयात हुने मोबाइल फोनको वितरण तथा प्रयोगलाई निरूत्साहित गर्नका लागि भन्दै मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) प्रणालीलाई पूर्ण रूपमा कार्यान्वयनमा ल्याउने निर्णय गरेको थियो।
भन्सार विभागले विदेशबाट ल्याउने फोनहरूमा कडाइ गर्ने बताएको थियो। व्यक्तिले प्रयोग गरिरहेको सहित थप एउटा मोबाइल ल्याएको छ भने दोस्रो मोबाइलको लागि भन्सार विभागलाई १८ प्रतिशत कर अनिवार्य तिर्नु पर्ने बताएको थियो।
नेपाल दूरसञ्चार प्राधिकरणले आयातित मोबाइल फोन सेट र व्यक्तिगत प्रयोगको लागि स्वदेशमा ल्याइएका मोबाइल फोनहरू एमडीएमएस प्रणालीमा दर्ता नभएका वा भदौ ३१ गतेअघि नेपालमा प्रयोगमा नआएका सेटहरूलाई उक्त प्रणालीमा अद्यावधिक गर्न आह्वान गरेको थियो। (RSS)