पोखरा । पोखराको अमरसिंह चौरमा पुस २७ गतेदेखि शुरु भएको पोखरा महोत्सव मंगलबार समापन भएको छ । महोत्सव करिब २ लाख ५० हजार दर्शकले अवलोकन गरेको र साथै स्टलमा राखिएका विभिन्न सामग्री खरिदबिक्रीबाट करिब १० करोडको कारोबार भएको आर्थिक व्यवस्थापन समितिका संयोजक सूर्यबहादुर बानियाले जानकारी दिए ।
गण्डकी प्रदेशमा नयाँ पर्यटकीय गन्तव्यको पहिचान, चिडियाखाना निर्माण, सेती नदीलाई साहसिक पर्यटकीय गन्तव्य बनाउने तथा शिक्षा, स्वास्थ्य र खेलकुदको विकास गर्ने लक्ष्यका साथ क्लबले महोत्सव गर्दै आएको अर्थ व्यवस्थापन समितिका संयोजक सूर्यबहादुर बानियाँले जानकारी दिए।
१४ दिनसम्म चलेको महोत्सव सांसद मनबहादुर गुरुङले समापन गरे । कार्यक्रममा उनले युनाइटेड क्लबले सामाजिक कामका लागि नै महोत्सव आयोजना गरेकोमा धन्यवा दिए । गण्डकी प्रदेशका कृषि मन्त्री वेदबहादुर गुरुङले युनाइटेड क्लबले लिएको उद्देश्यमा आफ्नो सधै साथ र सहयोग रहने बताए ।
महोत्सवस्थलबाट लेखनाथस्थित पँचभैयामा निर्माणाधीन चिडियाखाना अध्ययन अवलोकनका लागि निःशुल्क बस सेवाको व्यवस्था गरिएको थियो । सो अवधिमा आठसयभन्दा बढी दर्शकले सेवा लिएका थिए ।
महोत्सवको अर्को आकर्षण घोडचडी थियो । यसबाट पाँच सय जनाले घोडसवारको मज्जा लिनाका साथै एक हजार पाँच सय बालबालिकाले भिआर नाइनडीको मज्जा लिएका थिए ।