काठमाडौँ । काठमाडौं महानगरपालिका मेयर बालेन साहले देशको सार्वभौमिकता र स्वाधीनताको कुरामा आफूले कानुन र अदालतलाई पनि नमान्ने बताएका छन् ।
उच्च अदालत पाटनले बिहीबार भारतीय चलचित्र लगायत सेन्सर बोर्डले स्वीकृत गरेका चलचित्रको प्रदर्शन नरोक्न अल्पकालीन अन्तरिम आदेश दिएको थियो ।
उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् – ‘जहाँ सवाल देशको सार्वभौमिकता र स्वाधीनताको आउँछ म कुनै कानुन र अदालतलाई मान्नेवाला छैन । फिल्म लेखकले नेपाल भारतको अधिनमा थियो भनिसकेपछि उनीहरुको नियत थाहा हुन्छ । यो कुरालाई नेपाल सरकारले स्टन्ट भन्नु र अदालतले फिल्म चल्न दिनु भनेको नेपाल भारतको अधिनमा थियो, अदालत र सरकार भारत को गुलाम भएको बुझिन्छ । यसको लागि जुनसुकै सजाय भोग्न तयार छु तर फिल्म चल्दैन र चल्न दिइनेछैन ।’
भारतीय चलचित्र आदिपुरुषमा रहेको जानकी भारतीय छोरी हुन् भन्ने आशयको संवाद नहटाएको भन्दै काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले गत सोमबारदेखि भारतीय चलचित्र प्रदर्शनमा रोक लगाएका थिए । सोही बिरोधमा हल सञ्चालकहरु हिजो उच्च अदालतमा रिट दायर गरेका थिए ।