काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउदले दुवै छिमेकी मुलुक भारत र चीनसँगको सम्बन्ध सन्तुलित हुने बताउनुभएको छ ।
अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको आज बसेको बैठकमा परराष्ट्रमन्त्री साउदले उदयमान अर्थतन्त्र रहेका दुवै छिमेकी मुलुकहरूसँगको सम्बन्ध थप मजबुत र सुदृढ बनाउँदै पारदर्शी रुपमा आफ्ना सरोकार राख्नुपर्ने बताउनुभयो ।
मन्त्री साउदले भारतसँगको सम्बन्ध ऐतिहासिक र विशिष्ट रहेको भन्दै खुला सीमाना, व्यापार, पारवहन सुविधाका दृष्टिले महत्वपूर्ण रहेको बताउनुभयो । एक अर्कासँग तुलना गर्न नै नहुने भन्दै मन्त्री साउदले नेपाल एक चीन नीतिमा प्रतिबद्ध रहेको दोहोर्याउँदै मित्रराष्ट्रका विरुद्ध नेपाली भूमि प्रयोग गर्न नदिनेमा जोड दिनुभयो । मन्त्री साउदले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) आगामी अगस्टबाट कार्यान्वयनमा जाने र अर्को परियोजना बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) कार्यान्वयनका लागि छलफलकै क्रममा रहेको पनि जानकारी दिनुभयो ।
मन्त्री साउदले केही देशमा राजदूत खाली रहेकाले राजदूत नियुक्ति सम्बन्धी निर्देशिका र मापदण्डअनुरूप केही दिनमा राजदूत नियुक्तिले पूर्णता पाउने जानकारी दिनुभयो । मन्त्री साउदले दीर्घकालीन सोचका साथ ५ वर्षलाई पुग्ने गरी ६० लाख पासपोर्ट खरिद गर्ने निर्णय भएको जानकारी दिँदै परराष्ट्र मन्त्रालयको जनशक्ति व्यवस्थापन गर्न समेत आवश्यक रहेको बताउनुभयो ।
बैठकमा सांसदहरुले एमसीसी र विआरआई कार्यान्वयनको अवस्थाबारे जानकारी माग्नुका साथै अन्तर्राष्ट्रिय कम्पनीले ठेक्का लिएका आयोजना अलपत्र परेको, अमेरिकी विदेशमन्त्री नेपाल आउन लागेको र संयुक्त राष्ट्रसङ्घको साधारणसभामा नेपालको उपस्थिति लगायतका विषयमा सरकारको धारणा माग्नुभएको थियो । सांसदहरुले नयाँ अन्तर्राष्ट्रिय एयरपोर्टको हवाई रुटको कार्यप्रगतिबारे जानकारी गराउनुपर्ने, नीति विश्लेषण गर्ने अङ्गलाई सक्रिय बनाउनुपर्ने, ठूला दुई मुलुकको सम्बन्ध सन्तुलित बनाउनुपर्ने लगायतको धारणा राख्नुभएको थियो ।