सुदूरपश्चिम । सीमा क्षेत्रका सहरमा रु एकसय भन्दा बढी दरका भारतीय मुद्राको कारोबार नहुँदा व्यापारिक कारोबारमा प्रतिकूल असर पुगेको छ ।
नेपाली बजारमा भारतीय मुद्राको कारोबार रोकिँदा आर्थिक कारोबारमा समस्या भइरहेको धनगढीका व्यापारी सुभाष चौधरीले बताउनुभयो । “नेपाल राष्ट्र बैंकले रु एकसय भन्दा बढी दरको भारु नोटको कारोबार नगर्न भनेको छ,” चौधरीले भन्नुभयो, “कुनै पनि ग्राहकले भारु नोट लिन मान्दैनन्, यसले गर्दा आफूहरूको व्यापारमा नकारात्मक असर पुगेको छ ।”
भारुको कारोबार रोकिँदा काम विशेषले भारतका सहरमा जानुपर्ने सर्वसाधारणलाई बढी समस्या हुने गरेको छ । भारतबाट नेपाल भित्रिन चाहने भारतीय नागरिक समेत समस्या परेका छन् । गौरीफन्टा सीमानाका हुँदै धनगढी भित्रिन चाहने कतिपय भारतीय नागरिक रु पाँचसय दरको भारु नोट नचल्ने सूचना पाएसँगै सीमा क्षेत्रबाट नै फर्किन थालेका छन् ।
नेपाली मुद्रामा कारोबार हुने सीमापारी बनगाउँका व्यापारीले नेपाली ग्राहकसँग नेरुको भारु सटही गर्दासमेत कतिपय ग्राहक ठगिने गरेको अर्को समस्या पनि छ । उनीहरूले सटही गर्दा चलनचल्ती भन्दा कम दिने गरेको मालसामान किनमेलका लागि बनगाउँ बजार पुग्ने नेपाली ग्राहकले बताएका छन् । चाडपर्व सुरु भएसँगै बनगाउँ बजारमा मालसामान किनमेलका लागि नेपाली ग्राहकको भीड लाग्ने गरेको छ ।
सीमा क्षेत्रका नेपाली बजार क्षेत्रमा खाने तेल, मरमसला, चिनी, दालका साथै लत्ताकपडाको मूल्यको तुलनामा बनगाउँमा केही सुपथ मूल्यमा मालसामान पाइने भएपछि बनगाउँ पुग्नु परेको उपभोक्ताले बताएका छन् । नेपालका बजारमा खाने तेल, चिनी, दाललगायत उपभोग्य सामानको मूल्य चर्को हुँदा आफू सामान किनमेल गर्न बनगाउँ पुगेको कैलाली भन्सारमा भेटिनु भएकी धनगढीकी मनमति विष्टले बताउनुभयो ।
बनगाउँ बजार जाने ग्राहकमध्ये ९५ प्रतिशत ग्राहक नेपाली हुने गरेका छन् । सो क्षेत्रमा व्यवस्थापन भएको गौरीफन्टा बजार केही वर्षअघि हटाउन लगाइएपछि नजिकैको बनगाउँमा बजार व्यवस्थापन गरेर व्यापारीले कारोबार थालेका हुन् । त्यहाँ नेपाली ग्राहकको भीड लाग्न थालेपछि धनगढी, अत्तरिया लगायतका नेपाली बजारको कारोबार बढ्न नसेकेको नेपाली व्यापारीले बताएका छन् । (रासस)