काठमाडौँ । सरकारले जाजरकोट भूकम्पमा परी ज्यान गुमाएकाका परिवारलाई २ लाख रुपैयाँका दरले राहत दिने निर्णय गरेको छ ।
सिंहदरबारमा आज (आइतबार) बसेको मन्त्रिपरिषद् बैठकको निर्णय जानकारी गराउँदै नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले तत्काल राहतस्वरुप पहिलो चरणमा सो सहयोग उपलब्ध गराउने निर्णय भएको जानकारी दिइन् ।
यसैगरी जाजरकोट भूकम्पका कारण मृत्यु भएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै राहत तथा उद्धारको कामलाई तीव्रता दिने र घाइतेको निःशुल्क उपचार गर्ने निर्णय भएको मन्त्री शर्माले जानकारी दिइन् ।
शुक्रबार मध्यराति जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर गएको ६.४ म्याग्निच्युडको भूकम्पमा परी अहिलेसम्म १५७ जनाको मृत्यु भएको पुष्टि भएको छ। भूकम्पका कारण सयौँ घाइते भएका छन् भने करोडौँ बराबरको भौतिक क्षति भएको छ ।