काठमाडौँ । प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले अनलाइन र युट्युब च्यानलहरूको प्रभावकारी नियमनका लागि प्रेस काउन्सिल ऐन संशोधन गर्नुपर्ने बताउनुभएको छ ।
काउन्सिलले आज यहाँ आयोजना गरेको पत्रकार आचारसंहिता अभिमुखीकरण कार्यक्रममा उहाँले नयाँ ‘मिडिया’ का कारण उत्पन्न भएको चुनौती समाधान गर्न उक्त ऐनका केही प्रावधान संशोधन गर्नुपर्ने आवश्यकतामा जोड दिनुभएको हो ।
‘डिजिटल प्लेटफर्म’ मार्फत सञ्चालित सञ्चारमाध्यमको प्रभावकारी नियमनका लागि अहिले भएकै प्रेस काउन्सिल ऐनका केही दफा हेरफेर गरे पुग्ने र सरकारले चाहेमा यो प्रक्रिया चाँडै टुङ्गो लाग्ने पनि उहाँले बताउनुभयो । नियमनकै लागि वर्षौँ लगाएर नयाँ ऐन ल्याउनुभन्दा पनि यही कानुनमा संशोधन प्रभावकारी हुने र त्यसतर्फ सरोकारवालाको ध्यान जानुपर्ने उहाँको सुझाव थियो ।
नयाँ खुलेका अनलाइनका सम्पादक, प्रकाशकहरू सहभागी कार्यक्रममा अध्यक्ष बस्नेतले प्रेस काउन्सिलले स्वस्थ, मर्यादित, जिम्मेवारपूर्ण र विश्वसनीय पत्रकारिता चाहेको र त्यसतर्फ सञ्चारकर्मी स्वयंले तदारुकता देखाउनुपर्ने उहाँले जानकारी दिनुभयो । सो कार्यक्रममा नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेलले काउन्सिलले अनलाइनलाई मर्यादित र जिम्मेवार बनाउन गर्दै आएको सिर्जनात्मक कामको प्रशंसा गर्नुभएको थियो ।
काउन्सिलका बोर्ड सदस्य ठाकुरप्रसाद बेलबासेले र दीपक पाण्डेले अनलाइन मिडियालाई समाजलाई सही दिशामा लैजाने गरी पत्रकारिता गर्न सुझाव दिनुभयो । राष्ट्रिय समाचार समितिका बोर्ड सदस्य एवं आजको अभिमुखीकरण कार्यक्रमका विषय विज्ञ डिल्लीराम भट्टराईले आचारसंहिता र काउन्सिलले जारी गरेका निर्देशिकाहरूको पालना गर्दा पेसागत मर्यादा र गरिमा अझ बढ्ने बताउनुभयो ।
काउन्सिलका वरिष्ठ प्रशासकीय अधिकृत दीपक खनालले पत्रकारितामा कोही रहरले आउने त कोही यसै हाम फाल्नेलगायतका प्रवृत्ति देखिएको उल्लेख गर्दै पत्रकारिता पेसा मुलुकको सबैभन्दा बढी जिम्मेवार पेसा हो भनेर काम गर्न सुझाव दिनुभयो । काउन्सिलले नयाँ सूचीकरण हुन आएका अनलाइन पत्रिकाका सञ्चालकहरूलाई सूचीकरण प्रमाणपत्र प्रदान गर्नु पहिले यस्तो अभिमुखीकरण कार्यक्रम गरी पत्रकारिता पेसा र आचारसंहिताका बारेमा जानकारी गराउँदै आएको छ ।