म्याग्दी । कालीगण्डकी नदीलाई प्रदूषणमुक्त बनाई धार्मिक र आर्थिक महत्वले युक्त मानिएको शालग्राम शिलाको संरक्षणका लागि जनस्तरबाट स्वःस्फुर्त रूपमा नागरिक अभियान सञ्चालन गरिएको छ ।
धार्मिक, आर्थिक र पर्यावरणीय दृष्टिकोणले समेत महत्वपूर्ण मानिएको कालीगण्डकी नदीमा मात्रै पाइने बहुमूल्य शिला शालिग्राम चोरी निकारी र अवैधरूपमा गरिएको व्यापक नदी दोहनका कारण मासिँदै जान थालेपछि म्याग्दीका नागरिकले यसको संरक्षणका लागि अभियान सञ्चालन गरेका हुन् ।
शालिग्राम संरक्षण अभियानले शालिग्रामको चोरी निकासी र दोहन रोकेर संरक्षणका लागि समुदायमा सन्देश प्रवाह गराउने तथा सरोकारवालालाई दबाब दिन कालीगण्डकीको शिलाहरूमा हिन्दूहरुले पुज्दै र मान्दै आएका देवीदेवता तथा भगवानको नाम लेख्ने अभियान चलाएको हो । “कालीगण्डकी नदीलाई प्रदूषणमुक्त बनाउन र विश्वमा नै खोजिने तर कालीगण्डकी नदीमा मात्रै पाइने शालग्राम शिलाको संरक्षण गर्न हामीले कालीगण्डकी बचाउँ र शालग्राम जोगाउँ अभियान संचालन गरेका हौँ” कालीगण्डकी तथा शालग्राम संरक्षण समितिका संयोजक तथा अभियन्ता नेत्रबहादुर महतले भने ।
कालीगण्डकी नदी र शालिग्राम शिलालाई विश्व सम्पदा सूचीमा समावेश गर्न, नदीको स्वच्छता र पवित्रता कायम गरी प्रकृति र पर्यावरणको जगेर्ना गर्ने अभियानको उद्देश्य रहेको संयोजक महतले बताए । अभियानअन्तर्गत गत सोमबार म्याग्दी र कालीगण्डकी नदीको दोभानमा सरसफाइ गरिनुका साथै त्यहाँ रहेका शिला (पत्थर) हरुमा शालग्रामका विभिन्न पर्यायवाची नामसँग सम्वन्धित देवीदेवताहरुको नाम लेखिएको छ । इनामेल र विभिन्न रङको प्रयोग गरेर शिलामा भगवान र दवीदेवताका नाम लेखिएको संयोजक महतको भनाइ छ ।
अभियानमा सर्वसाधारण, साधु, सन्त र पर्यावरणप्रेमी नागरिकहरूको संलग्नता रहेको छ । अभियन्ताहरुले कालीगण्डकी तटका शिलाहरुमा हरहर गङ्गे, मच्छेमूर्ति, महाकुर्ममूर्ति, बराहमूर्ति, लक्ष्मीनारायण लगायत देवीदेउताका नाम लेखेका छन् । सोही अवसरमा दुई नदीको दोभानमा सरसफाई गर्नुका साथै भजनकीर्तन र कविता वाचन समेत गरिएको थियो । रासस