काठमाडौँ । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले छाउपडीलगायत कुप्रथा अन्त्यका लागि प्रभावकारी कानुन निर्माण गर्न सरोकारवाला मन्त्रालयबीचको समन्वयमा समिति बनाइने बताएका छन् ।
अछाममा छाउपडी गोठमा किशोरीमाथि बलात्कार भएको घटनाका सम्बन्धमा सोमबार गृह मन्त्रालयमा महिला जनप्रतिनिधि र अभियन्तासँगको छलफलमा उनले यस प्रकारका घटना हुन नदिनका लागि प्रभावकारी कदम चालिने स्पष्ट पारेका हुन् ।
उक्त समितिले कुप्रथा अन्त्यका लागि यसअघिका अध्ययन, कानून र अभियानको अध्ययन गरी कार्यान्वयन हुन नसक्नुको कारणसहित आवश्यक सुझाव सरकारलाई दिनेछ । सोही समितिको सिफारिसका आधारमा यस्ता कुप्रथा निर्मूल पार्नका लागि सरकारले प्रभावकारी योजना बनाइने उपप्रधानमन्त्री लामिछानेले उल्लेख गरे ।
“अछाममा जुन घटना भयो, त्यो दखद् हो। गृह प्रशासनले त्यसका सम्बन्धमा आवश्यक कारबाही प्रक्रिया अघि बढाएको छ । तर विषय यो मात्र होइन । आगामी दिनमा यस्ता घटना हुन कसरी नदिने? हाम्रो ध्यान त्यसतर्फ छ,” उनले भने । कुप्रथा अन्त्यका लागि सरकारले चलाइरहेका कार्यक्रमको प्रभावकारिताका सम्बन्धमा प्रश्न उठेको उल्लेख गर्दै उपप्रधानमन्त्री लामिछानेले यसअघि भएका अध्ययनको निष्कर्ष फेरि अध्ययन गरी प्राप्त सुझावका आधारमा प्रभावकारी गरिने प्रतिबद्धता व्यक्त गरे ।
छलफलमा सांसद तथा अभियन्ताले छाउगोठ भत्काएर मात्रै कुरीति अन्त्य गर्न नसकिने भन्दै त्यसका लागि सचेतना नै मुख्य उपाय भएको बताएका थिए । छाउगोठ बनाउनु कानूनी रूपमै अपराध भएको भन्दै त्यस्ता गोठमा राख्ने घरमुलीलाई पनि कानूनको दायरामा ल्याउनुपर्ने उनीहरूको सुझाव छ । रासस