काठमाडौँ । आराध्यदेव भगवान् पशुपतिनाथको मुख्य पर्व महाशिवरात्रिका लागि पशुपति क्षेत्र विकास कोषले सम्पूर्ण तयारी पूरा गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री एवं कोष सञ्चालक परिषद्का अध्यक्ष अनिलकुमार सिन्हाको अध्यक्षतामा १७१ सदस्यीय मूल समारोह समिति गठन गरी व्यवस्थापनलाई चुस्त बनाइएको छ ।
दर्शनार्थीका लागि विशेष व्यवस्था:
-
मन्दिर खुल्ने समय : दर्शनार्थीको चापलाई मध्यनजर गर्दै आइतबार बिहान २ बजेदेखि नै पशुपतिनाथ मन्दिरका चारै ढोका खोलिनेछ।
-
वृद्धवृद्धा र अशक्तलाई सहजता : वृद्धवृद्धाले लाइनमा बस्नु नपर्ने व्यवस्था मिलाइएको छ। उनीहरूको सहयोगका लागि एक जना आफन्तलाई साथमा जान अनुमति दिइनेछ।
-
अन्तर्राष्ट्रिय सहभागिता : नेपालसहित भारत, भुटान, बंगलादेश र म्यान्मार लगायतका देशबाट साधुसन्त र भक्तजनहरूको ठुलो उपस्थिति भइसकेको छ।
सुरक्षा, स्वास्थ्य र आवास : भक्तजनको सुरक्षा र स्वास्थ्यका लागि कोषले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलसँगको समन्वयमा विशेष सुरक्षा योजना लागू गरेको छ।
-
स्वास्थ्य शिविर: मन्दिर परिसरमा चिकित्सक, औषधि र एम्बुलेन्ससहितको स्वास्थ्य शिविर तयार पारिएको छ भने आकस्मिक अवस्थाका लागि अस्पतालमा शैयाहरू बुक गरिएको छ।
-
नि:शुल्क भोजन र आवास: तिलगंगा, हंशमण्डप, वनकाली र विभिन्न धर्मशालाहरूमा भक्तजनका लागि नि:शुल्क आवास र भोजनको व्यवस्था गरिएको छ।
पशुपति क्षेत्र निषेधित र नियमहरू : पर्वलाई सभ्य र सुरक्षित बनाउन कोषले केही कडा नियमहरू जारी गरेको छ:
-
नशालु पदार्थ निषेध : मन्दिर परिसरमा गाँजा, भाङ, जाँडरक्सी जस्ता नशालु पदार्थको बिक्रीवितरण र सेवनमा पूर्ण प्रतिबन्ध लगाइएको छ।
-
प्लाष्टिक मुक्त क्षेत्र : वातावरणीय सन्तुलनका लागि प्लाष्टिक, काँच र सिसाका सामग्री (कप-प्लेट आदि) प्रयोग गर्न रोक लगाइएको छ।
-
सिँगारिएको परिसर : पशुपति क्षेत्रलाई विभिन्न प्रकारका फूल र बत्तीले आकर्षक रूपमा सिँगारिएको छ।



