काठमाडौँ । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई मध्यनजर गर्दै देशभरका अस्पताल तथा स्वास्थ्य संस्थाहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएको छ ।
मतदानका दिन खटिने कर्मचारी, सुरक्षाकर्मी र मतदाताहरूलाई पर्न सक्ने सम्भावित आकस्मिक स्वास्थ्य समस्यालाई ध्यानमा राख्दै आयोगले यस्तो व्यवस्था मिलाउन भनेको हो । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार मतदानस्थलमै आकस्मिक स्वास्थ्य सहायता उपलब्ध गराउने गरी आवश्यक तयारी गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र सङ्घीय मामिला मन्त्रालयमार्फत पत्राचार गरिएको छ।
आयोगले देशभरका स्वास्थ्य संस्थामा चिकित्सक, स्वास्थ्यकर्मी र औषधिको पर्याप्त व्यवस्थापन गर्न निर्देशन दिँदै स्थानीय तहहरूलाई समेत समन्वयका लागि आग्रह गरेको छ। निर्वाचनलाई स्वच्छ र भयरहित वातावरणमा सम्पन्न गर्न सरकारसँगको सहकार्यमा विभिन्न व्यवस्थापकीय कार्यहरू भइरहेको आयोगले जनाएको छ । यसअघि नै आयोगको सिफारिसमा सरकारले निर्वाचनका लागि मतदानको दिन अघि र पछि गरी तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरिसकेको छ।
यसैगरी, मतदान प्रक्रियालाई थप व्यवस्थित बनाउन आयोगले मतदान केन्द्रका रूपमा प्रयोग हुने शिक्षण संस्था, स्वास्थ्य चौकी र वडा कार्यालय लगायतका सरकारी संरचनाहरू फागुन १९ देखि २१ गतेसम्म उपयोग गर्ने निर्णय गरेको छ । ती संरचना र त्यहाँ रहेका भौतिक सम्पत्तिको प्रयोगका लागि गृह मन्त्रालयमार्फत सम्बन्धित निकायहरूमा पत्राचार भइसकेको विज्ञप्तिमा उल्लेख छ ।
आयोगले निर्वाचन सफल पार्न सङ्घीय, प्रदेश र स्थानीय सरकारका साथै सम्पूर्ण सरोकारवाला निकायलाई आवश्यक सहयोग पुर्याउन आह्वान गरेको छ ।



