काठमाडौँ । बिहीबार हुने प्रतिनिधिसभा निर्वाचनमा सहभागी हुन काठमाडौँ उपत्यकाबाट बाहिरिने सर्वसाधारणको सङ्ख्या ह्वात्तै बढेको छ ।
आफ्नो मताधिकार प्रयोग गर्न गृहजिल्ला जानेहरूको भिडका कारण उपत्यकाका नाका र बसपार्कहरूमा निकै चाप देखिएको छ । ट्राफिक प्रहरी नायब उपरीक्षक सुनिलजङ्ग शाहका अनुसार हालसम्म करिब सात लाख ५० हजारभन्दा बढी मानिसले उपत्यका छाडिसकेका छन् र यो क्रम बुधबारसम्मै जारी रहने देखिएको छ । यात्रुको चाप बढेसँगै सार्वजनिक यातायातका साधनहरू भरिभराउ छन् भने निजी सवारीसाधनको आवागमन पनि निकै बढेको पाइएको छ । यसरी बाहिरिनेहरूको लर्कोका कारण मुख्य राजमार्ग र नाकाहरूमा सवारीसाधनको लामो लाम लागेको छ ।
बढ्दो चापलाई मध्यनजर गर्दै यातायात व्यवस्थालाई सुरक्षित र व्यवस्थित बनाउन ट्राफिक प्रहरीले थप जनशक्ति परिचालन गरेको छ । विशेष गरी सवारीको चाप बढी हुने क्षेत्रमा अतिरिक्त निगरानी बढाइएको र नजिकका प्रहरी इकाइहरूसँग समन्वय गरी सवारी व्यवस्थापन भइरहेको ट्राफिक प्रहरीले जनाएको छ । निर्वाचन सुरक्षामा खटिएका टोलीहरूले पनि यातायात व्यवस्थापनमा सहयोग पुर्याइरहेका छन् भने राजमार्गहरूमा गस्ती समेत तीव्र पारिएको छ । ट्राफिक प्रहरीले यात्रुहरूलाई सुरक्षित र संयमित भएर यात्रा गर्न तथा चालकहरूलाई क्षमताभन्दा बढी यात्रु नबोक्न र ट्राफिक नियमको पूर्ण पालना गर्न आग्रह गरेको छ । लामो दूरीको यात्रा तय गर्दा सवारीको अवस्था जाँच गर्न र सडकको स्थितिबारे जानकारी लिएर मात्र अघि बढ्न समेत प्रहरीले सुझाव दिएको छ ।



