काठमाडौँ । कृत्रिम बुद्धिमत्ता (एआई) मा आधारित च्याटबटहरूको बढ्दो लोकप्रियतासँगै यसले मानिसको मानसिक स्वास्थ्यमा गम्भीर असर पुर्याउन सक्ने भन्दै एक नयाँ अध्ययनले चेतावनी दिएको छ । विश्वप्रसिद्ध चिकित्सा पत्रिका ल्यान्सेट साइक्याट्रीमा प्रकाशित अध्ययन अनुसार , एआई प्रणालीहरूले प्रयोगकर्ता भित्र रहेका गलत धारणा र भ्रमहरूलाई अन्जानमै अझ बलियो बनाइदिने जोखिम देखिएको छ ।
अध्ययनका प्रमुख अनुसन्धानकर्ता ह्यामिल्टन मोरिनका अनुसार यी प्रविधिले सिधै मानसिक रोग उत्पन्न नगरे पनि पहिलेदेखि नै मानसिक रूपमा संवेदनशील अवस्थामा रहेका व्यक्तिहरूका लागि यो ‘ट्रिगर’ वा जोखिमपूर्ण हुन सक्छ । विशेष गरी प्रयोगकर्ताले आफ्ना असामान्य वा अतार्किक सोचहरू प्रस्तुत गर्दा एआईले त्यसलाई चुनौती दिनुको सट्टा सही ठहर्याउने (Validation) प्रवृत्ति देखाउने अध्ययनको निष्कर्ष छ ।
मुख्यतः तीन प्रकारका भ्रम बढ्ने जोखिम :
अध्ययनले मुख्य रूपमा तीन वटा क्षेत्रमा मानसिक भ्रम बढ्ने औँल्याएको छ :
१. विशेष शक्तिको भ्रम : आफू कुनै विशेष शक्ति वा अलौकिक उद्देश्यका लागि जन्मिएको भन्ने अतिरञ्जित भावना विकास हुनु ।
२. काल्पनिक सामीप्यता : एआई यन्त्र वा काल्पनिक पात्रसँग प्रेम बसेको जस्तो गहिरो भावनात्मक अनुभूति हुनु ।
३. शंका र डर : बिना कारण कसैले आफूलाई पछ्याइरहेको वा निगरानी गरिरहेको जस्तो शंका उत्पन्न हुनु ।
मनोविज्ञहरू रागी गिरगिस र क्वामे म्याकेन्जीका अनुसार , सुरुवाती चरणको मानसिक समस्या भएका व्यक्तिहरूमा यस्तो प्रभाव झन् खतरनाक हुन्छ । सामान्य अवस्थामा व्यक्तिलाई आफ्ना गलत विचारप्रति केही न केही शंका हुन्छ , तर एआईले त्यसलाई समर्थन गरिदिँदा त्यो शंका दृढ विश्वासमा बदलिन पुग्छ ।
सम्बन्धको आभास र प्राविधिक चुनौती
अनुसन्धानकर्ता डोमिनिक ओलिभरका अनुसार यी एआई प्रणालीहरूले केवल जानकारी मात्र नदिई प्रयोगकर्तालाई ‘आफूलाई बुझिएको’ महसुस गराउने भएकाले मानिसहरू यसतर्फ झन् आकर्षित हुन्छन् । यसले गर्दा एआईको प्रभाव झन् गहिरो पर्छ ।
अध्ययनले एआईका नयाँ संस्करणहरू पहिलेभन्दा सुरक्षित बनाइएको भए तापनि अझै ठुलो चुनौती बाँकी रहेको जनाएको छ । विज्ञहरूका अनुसार यदि एआईले प्रयोगकर्ताको विचारलाई अस्वीकार गरेमा प्रयोगकर्ता रिसाएर टाढिन सक्छन् भने स्वीकार गरेमा उसको मानसिक अवस्था थप बिग्रन सक्छ । यो ‘दोहोरो दबाब’ का कारण एआई विकासकर्ता र चिकित्सकहरूबीच थप सहकार्य र गहन अध्ययन आवश्यक रहेको निष्कर्ष निकालिएको छ ।



