काठमाडौँ । ऊर्जा क्षेत्रको समग्र सुधार र विकासका लागि नयाँ विद्युत् नीतिको तयारी तीव्र पारिएको छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले यस विषयमा मन्त्रालयमा आन्तरिक छलफल सुरु गर्दै नीति निर्माणको प्रक्रियालाई अगाडि बढाएका हुन् ।
शुक्रबार आयोजित छलफलमा मन्त्री श्रेष्ठले ऊर्जा क्षेत्रको संरचनागत सुधार, वातावरण संरक्षण र ऊर्जाको प्रभावकारी उपयोगलाई समेट्ने गरी नीति तयार गर्न निर्देशन दिए । उनले केवल वर्तमानका समस्या मात्र नभई भविष्यमा आउन सक्ने चुनौतीहरूलाई समेत ध्यानमा राखेर दीर्घकालीन सोचका साथ अगाडि बढ्नुपर्ने बताए ।
गुणस्तरीय विद्युत् आपूर्ति, आन्तरिक खपत वृद्धि, जलवायु परिवर्तनका असर र कार्बन व्यापार जस्ता समसामयिक विषयहरू नयाँ नीतिमा अनिवार्य समेटिनुपर्ने उनको भनाइ छ ।
विद्युत् नीतिले आगामी दिनमा बन्ने ऐन तथा कानुनहरूका लागि मार्गनिर्देशन गर्ने हुँदा यसलाई निकै गम्भीरताका साथ लिइएको छ । मन्त्री श्रेष्ठले निजी क्षेत्रको लगानीलाई प्रोत्साहित गर्ने र उनीहरूको प्रतिफल सुनिश्चित गर्ने खालको वातावरण निर्माण गर्नुपर्नेमा समेत जोड दिए ।
स्वच्छ ऊर्जाको विकास र पुँजी परिचालनका लागि यो नीति कोसेढुङ्गा सावित हुने अपेक्षा गरिएको छ ।



