काठमाडौँ । संघीय संसद्को तल्लो सदन प्रतिनिधिसभाले आज नयाँ उपसभामुख चयनका लागि उम्मेदवारी दर्ताको प्रक्रिया अघि बढाउँदै छ ।
संसद् सचिवालयले तय गरेको निर्वाचन तालिकाअनुसार आज बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म उम्मेदवारहरूले आफ्नो मनोनयन दर्ता गराउन सक्नेछन् ।
सचिवालयका सचिव हर्कराज राईका अनुसार दर्ता भएका उम्मेदवारीहरूको सूची आजै दिउँसो २:३० बजे क्रमानुसार प्रकाशन गरिनेछ । संवैधानिक प्रावधानअनुसार सभामुख र उपसभामुख फरक-फरक दल र लिंगको हुनुपर्ने व्यवस्था छ । हाल सभामुख पुरुष रहेकाले अब चयन हुने उपसभामुख महिला हुनुपर्ने निश्चित छ ।
सभामुख डिपी अर्यालले उपसभामुखको निर्वाचनका लागि भोलि शुक्रबार अपराह्न ४ बजेको समय निर्धारण गरेका छन् । प्रतिनिधिसभाको समीकरण हेर्दा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) निर्णायक देखिएको छ ।
दुई तिहाइ बहुमतको नजिक रहेको रास्वपाले जसलाई समर्थन गर्छ, उसैले उपसभामुखको पद सुरक्षित गर्ने सम्भावना प्रबल छ ।



