रामेछाप । नेपाली सेनाको मध्य पूर्वी पृतना अन्तर्गतका पहाडी तथा हिमाली जिल्लाहरूमा बसोबास गर्ने भूतपूर्व सैनिक र एकल महिलाहरूको सहभागितामा विशेष सम्मेलन सम्पन्न भएको छ ।
रामेछापस्थित खड्गदल गणलाई मुख्य केन्द्र बनाएर आयोजना गरिएको यस कार्यक्रममा करिब ६ हजार ५ सय जना अवकाश प्राप्त सैनिक तथा उनीहरूका परिवारको उपस्थिति रहेको थियो । बलाधिकृत रथी प्रदिप जंग केसीको प्रमुख आतिथ्यमा भएको यस सम्मेलनले सेवारत र पूर्व सैनिकहरूबीचको सम्बन्धलाई थप प्रगाढ बनाउने लक्ष्य राखेको छ ।
सम्मेलनका क्रममा १०२ वर्षीया एकल महिला नरमाया कार्कीलाई ज्येष्ठ शताब्दी महिलाको रूपमा विशेष सम्मान गरियो । साथै , चार जना सन्तानलाई सेनामा पठाउने अभिभावक , उत्कृष्ट उद्यमी र ज्येष्ठ पूर्व सैनिकहरूलाई पनि पुरस्कृत गरिएको छ । शारीरिक रूपमा अशक्त २४ जनालाई ह्विलचेयर र बैसाखी वितरण गर्दै सेनाले आफ्ना हिताधिकारीको कल्याणमा प्रतिबद्धता जनाएको छ ।
यसपटकको सम्मेलन समापन भएसँगै सेनाले प्राप्त सुझावका आधारमा शिक्षा , स्वास्थ्य र स्वरोजगारका क्षेत्रमा सेवा सुविधाहरू थप परिमार्जन गर्दै लैजाने विश्वास लिएको छ ।



