पोखरा असोज २८। पर्यटकीय नगरी पोखरामा नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको आज शुक्रबार औपचारिक उद्घाटन हुँदैछ ।
औपचारिक उद्घाटन असोज २८ मा हुने भएपनि धेरै खेलहरु सुरु भइसकेका छन् ।
सन् १९८४ मा दोश्रो राष्ट्रिय खेलकुद पोखरामा भएको ३९ वर्षपछि राष्ट्रिय खेलकुद पोखरामा फर्किएको हो ।
गण्डकी प्रदेशले सङ्घीयता पाएपछि पहिलो पटक राष्ट्रिय खेलकुद आयोजना गर्ने मौका पाएको हो । सरकारले देशकै ठूलो खेलकुद प्रतियोगिताका लागि ६० करोड विनियोजन गरेको छ ।
खेलको उद्घाटन उपराष्ट्रपति नन्दबहादुर पुनले गर्नेछन् ।
कार्तिक ३ मा समापन हुने खेलको समापन समारोहलाई प्रधानमन्त्री शेरबहादुर देउवाले सम्बोधन गर्ने राष्ट्रिय खेलकुद परिषद्ले जनाएको छ ।
गण्डकी प्रदेशका विभिन्न ८ जिल्लामा खेल हुँदैछ । कार्यक्रममा ३६ वटा प्रतिस्पर्धात्मक खेल र २ प्रदर्शनी खेल भएका थिए ।
खेलमा ६ हजार १५७ खेलाडीले ४०४ स्वर्ण पदकका लागि प्रतिस्पर्धा गर्नेछन् ।
त्यसैगरी विभिन्न ११ टोलीका खेलाडीले ४०९ रजत र ६०१ कास्य पदकका लागि प्रतिस्पर्धा गर्नेछन् ।
सात प्रदेशबाट एक-एक टोली र चार विभागीय टोली त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, सशस्त्र प्रहरी बल क्लब र गैरआवासीय नेपाली क्लब टोली गरी ११ टोलीले पदकका लागि प्रतिस्पर्धा गर्नेछन्।