काठमाडौँ । मानवीय भावना, संस्कृति र सामाजिक एकताको सशक्त माध्यमका रूपमा रहेको ‘विश्व कविता दिवस’ आज मार्च २१ मा नेपालसहित विश्वभरि नै विशेष उत्साहका साथ मनाइँदैछ । यस वर्षको दिवसका लागि ‘शान्ति र समावेशीकरणको लागि पुलको रूपमा कविता’ भन्ने मूल नारा तय गरिएको छ । यसले विविध समुदायलाई जोड्न र समाजमा आपसी समझदारी एवं सद्भाव कायम राख्न कविताले खेल्ने भूमिकालाई विशेष जोड दिएको छ ।
विश्वका कविहरूको सिर्जनात्मक क्षमताको कदर गर्दै संयुक्त राष्ट्रसङ्घीय शैक्षिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) ले सन् १९९९ मा यो दिवस मनाउने घोषणा गरेको थियो । नेपालमा भने सन् २००२ देखि औपचारिक रूपमा यो दिवस मनाउन थालिएको इतिहास छ । कवितालाई केवल शब्दको जालका रूपमा मात्र नभई संवाद र सामाजिक रूपान्तरणको महत्त्वपूर्ण औजारका रूपमा लिइने गरिन्छ ।
आजको दिनमा नेपालका विभिन्न साहित्यिक सङ्घ-संस्थाहरूले कविता वाचन , काव्य विमर्श र स्रष्टाहरूको सम्मानमा विविध कार्यक्रमहरू आयोजना गरेका छन् । शब्दका माध्यमबाट शान्ति र एकताको सन्देश फैलाउनु नै यस दिवसको मुख्य उद्देश्य रहेको छ ।



