काठमाडौँ । आज मार्च २० विश्वभर विभिन्न कार्यक्रम गरी अन्तर्राष्ट्रिय खुशी दिवस मनाइँदैछ । संयुक्त राष्ट्रसङ्घको आह्वानमा हरेक वर्ष मनाइने यस दिवसले मानिसको जीवनमा खुशीको महत्त्व र यसलाई प्राप्त गर्ने अधिकारको वकालत गर्दछ ।
यस वर्ष अन्तर्राष्ट्रिय खुशी दिवसको मुख्य विषयवस्तु हेरचाह र साझेदारीमा केन्द्रित रहेको छ । सुखी संसार निर्माणका लागि मानवीय सम्बन्ध , समानुभूति र एक-अर्कालाई निस्वार्थ सहयोग गर्ने भावनालाई प्राथमिकता दिँदै यो दिवस मनाइँदैछ । यसले विशेषगरी सामाजिक सञ्जाल र व्यक्तिगत कल्याणको सम्बन्धलाई जोड्दै समुदायमा कृतज्ञता व्यक्त गर्न जोड दिएको छ ।
सन् २०११ मा संयुक्त राष्ट्रसङ्घको महासभाले खुशीलाई एक आधारभूत मानव लक्ष्यका रूपमा स्वीकार गर्दै विशेष प्रस्ताव पारित गरेको थियो । सो प्रस्तावको दुई वर्षपछि , सन् २०१३ देखि राष्ट्रसङ्घका १९३ सदस्य राष्ट्रहरूले आधिकारिक रूपमा यो दिवस मनाउन सुरु गरेका हुन् । त्यसयता हरेक वर्ष मार्च २० लाई संसारभर खुशी फैलाउने र मानसिक स्वास्थ्यप्रति सचेतना जगाउने अवसरका रूपमा लिइन्छ ।



