प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आगामी मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको ऐतिहासिक निर्वाचनलाई सफल बनाउन सबैको दायित्व भएको बताउनु भएको छ ।
आज भिडियो सन्देश जारी गर्दै प्रधानमन्त्रीले लोकतान्त्रिक शासन व्यवस्थामा आवधिक निर्वाचन लोकतन्त्रको प्राण भएको बताउँदै मुलुक निर्वाचनको अन्तिम चरणमा पुगेको बताउनु भएको छ ।
‘चुनावको ऐतिहासिक कार्यलाई सफल बनाउने जिम्मेवारी सबैको हो । राणाशासन विरुद्धको आन्दोलनदेखि हालसम्मको राजनीतिक सङ्घर्षका चरणहरू मुलुक पूरा गरिसकेको छ । अब संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गर्दै मुलुक समृद्धिको बाटोमा अघि बढ्नुपर्छ,’ प्रधानमन्त्रीले भने ।
देशका हरेक राजनीतिक, सामाजिक आन्दोलनको नेतृत्व कांग्रेसले गरेको बताउँदै प्रधानमन्त्रीले मुलुकलाई समृद्धितर्फ लैजाने दायित्व कांग्रेसको रहेको बताउनु भयो ।
वि.सं. २०४६ सालको राजनीतिक आन्दोलनपछि मुलुकले सामाजिक-आर्थिक विकासले गति लिए पनि धेरै कुरा गर्न बाँकी रहेको उनले बताए ।
‘हाम्रा युवाहरू प्रविधि र ज्ञानमा दक्ष भइरहेका छन्। उहाँहरुको विज्ञतालाई सम्मान गर्नका लागि आगामी दिनमा नयाँ सोचका साथ अगाडि बढ्ने प्रयास गर्नेछौं । सुशासनको आधुनिकीकरण गरी शीघ्र सार्वजनिक सेवा प्रवाह सुनिश्चित गर्ने प्रणालीको विकास गर्नेछौं,’ प्रधानमन्त्री देउवाले भने ।
प्रधानमन्त्री देउवाले पिछडिएका समुदाय र क्षेत्रको अधिकारका लागि काँग्रेसले धेरै काम गरेको र आगामी दिनमा पनि अझ राम्रो नतिजा ल्याउने बताउनु भयो ।
प्रधानमन्त्री देउवाले दुईपटक संसद् विघटनपछि सिर्जना भएको कठिन अवस्था र अनिश्चितता सबैले बुझेको बताउँदै अहिलेको गठबन्धन जुन सहमति र सहकार्यमा स्थापना भएको थियो, त्यसैका आधारमा देशलाई अगाडि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । (RSS)