काठमाडौँ । तामाङ समुदायको गौरवमय परम्परासँग जोडिएको प्रसिद्ध तेमाल जात्रा आज (बुधबार) देखि बौद्ध क्षेत्रमा उत्साहका साथ प्रारम्भ भएको छ ।
चैत्र शुक्ल चतुर्दशीको अवसर पारेर सुरु हुने यस जात्रामा विशेषगरी दिवंगत आफन्तहरूको आत्माको शान्तिका लागि दीप प्रज्वलन र पूजापाठ गर्ने गरिन्छ ।
काठमाडौँ उपत्यकासहित आसपासका काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, नुवाकोट, मकवानपुर र ललितपुरबाट ठूलो संख्यामा श्रद्धालुहरू बौद्ध महास्तुपा आइपुगेका छन् । पितृलाई स्मरण गर्दै रातभर जाग्राम बस्ने र भोलिपल्ट बिहान बालाजुको २२ धारामा स्नान गर्ने प्रचलन यस जात्राको मुख्य विशेषता मानिन्छ ।
ऐतिहासिक र सांस्कृतिक महत्व बोकेको यस पर्वले तामाङ समुदायको संस्कार र परम्परालाई पुस्तान्तरण गर्न महत्वपूर्ण भूमिका खेल्दै आएको छ ।



