काठमाडौँ । अहिंसा र अपरिग्रहका प्रणेता महावीर जैनको २६२५औँ जन्मजयन्ती आज देशभर विभिन्न आध्यात्मिक कार्यक्रमका साथ मनाइँदैछ ।
राजपरिवारमा जन्मिएर पनि भौतिक सुखत्यागी शान्तिको खोजीमा लागेका महावीरले मानव समुदायलाई सत्य, अस्तेय र ब्रह्मचर्यको मार्ग प्रदर्शन गरेका थिए ।
इसापूर्व ५९९ को चैत्र शुक्ल त्रयोदशीमा वर्तमान भारतको वैशाली नजिकै पर्ने कुण्डलग्राममा राजा सिद्धार्थ र रानी त्रिशूलाका सुपुत्रका रूपमा उनको जन्म भएको थियो । करिब १२ वर्षसम्म कठोर तपस्या गरेपछि उनले प्राप्त गरेको ज्ञान र जैन दर्शन अहिले पनि उत्तिकै सान्दर्भिक मानिन्छ । नेपाल जैन परिषद्का अध्यक्ष सुशीलकुमार जैनका अनुसार जैन धर्ममा कूल २४ जना तीर्थङ्करहरू छन्, जसमध्ये महावीर अन्तिम तीर्थङ्कर हुन् ।
महावीरका उपदेशहरूमा अरूलाई कष्ट दिनु पनि हिंसा मानिएको छ भने परोपकारलाई नै वास्तविक अहिंसाको रूपमा व्याख्या गरिएको छ । विशेषगरी आफूलाई आवश्यक पर्ने भन्दा बढी वस्तु सङ्ग्रह नगर्ने ‘अपरिग्रह’ को सिद्धान्तलाई उनले विशेष जोड दिएका थिए । उनको प्रसिद्ध कृति ‘उत्तर अध्याय सूत्र’ को नेपाली अनुवाद डा. मणिभद्र मुनिजीले गरेका छन् ।
यस विशेष अवसरमा नेपाल जैन परिषद् लगायतका विभिन्न संस्थाहरूले पदयात्रा, प्रवचन र पूजापाठ गरी दिवस मनाइरहेका छन् ।



