सृष्टिको रचनासँगै भगवान ब्रह्माले अथर्ववेदको उपाङ्गको रुपमा रचना गर्नुभएको आयुर्वेद शास्त्र अत्यन्तै फराकिलो शास्त्र हो । यो त्यस्तो शास्त्र हो जसमा हित आयु, अहित आयु, सुख आयु र दुख आयु गरी ४ प्रकारका आयुको लागि हित (पथ्य), अहित (अपथ्य), आयुको मान (प्रमाण) र आयुको स्वरुपको वर्णन गरिएको छ । यस शास्त्रको प्रवर्तकको रुपमा भगवान विष्णु का स्वरुप भगवान धन्वन्तरीलाई मानिन्छ जो सत्ययुगमा देवता तथा दानवद्वारा समुन्द्र मन्थनका क्रममा देवतालाई अमृत प्रदान गर्ने हेतुले एक हातमा अमृतको घडा र अर्को हातमा शंख चक्र सहित प्रकट हुनुभएको थियो । जसको उत्पति नै अमृत प्रदान गर्ने उद्येश्यले भएको छ , उहाँ नै आयुर्वेदको प्रवर्तक हुनु भनेको आयुर्वेद आफैंमा अमृततुल्य हुनु हो । त्यसैले पनि आयुर्वेदको उद्येश्य केवल औषधद्वारा रोगीको रोग निको पार्नु मात्र नभएर पथ्य आहार विहारद्वारा रोग लाग्न नदिनु वा शरीरलाई स्वस्थ बनाईराख्नु पनि हो । आयुर्वेदमा पथ्यापथ्य (शरीरको लागि हितकर र अहितकर) तथा औषध सेवनलाई एक अर्काका आदरणीय पक्ष मानिएको छ । प्राचिन आयुर्वेद आचार्यले पथ्य सेवनको महत्वलाई ध्यानमा राखी यसो भनेका छन् –
पथ्ये सति गदार्त्तस्य किमौषधनिषेवणैस् ।
पथ्ये असति गदार्त्तस्य किमौषधनिषेवणैस् ।
अर्थात, यदि रोगी पथ्य (हितकर आहारविहार) को सेवन गर्छ भने औषधि सेवन नगर्दा पनि ऊ स्वस्थ नै रहन्छ र केवल औषधि मात्र सेवन गरी पथ्य (हितकर आहारविहार) को सेवन गर्दैन भने वा अपथ्य सेवन गर्छ भने त्यो औषधिले मात्र उसको रोग निको हुँदैन । यसर्थ आयुर्वेद औषधि सेवन गर्दा खानेकुरा र जीवनयापन मा बार्नुपर्ने कुरा आयुर्वेद चिकित्सक किन गर्दा रहेछन् भन्ने स्पष्ट बोध हुन्छ ।
सामान्य रुपले भन्नुपर्दा पथ्य, अपथ्य, आहार, विहार तथा औषध भन्नाले क्रमशः शरीरको लागि हितकर, अहितकर, खानपिन, जीवनशैली तथा औषधि बुझिन्छ र यी सबै आयुर्वेद उद्येश्य प्राप्तिका लागि प्रधान हुन् । औषधि एक वा एकभन्दा बढी पदार्थको मिश्रित बनावट हो । जुन पदार्थ औषधि प्रयोजनका लागि प्रयोग गरिन्छ त्यो स्वभाविक रुपमा हितकर नै हुनुपर्छ । यस अर्थमा हितकर पदार्थ भन्नाले मिसावट नभएको पदार्थ बुझिन्छ र मिसावट नभएको पदार्थ भन्नाले शास्त्रमा उल्लेखित विशिष्ट पदार्थ र त्यसको सोहि प्रयोज्य अङ्गको औषधिमा प्रयोग हुनु हो । शास्त्रीय औषधि उत्पादन गर्दा शास्त्रमा उल्लेखित पदार्थ र सो को निर्धारित परिमाण, त्यसमा उल्लेखित विधि तथा गुणस्तर परीक्षण सम्बन्धि शास्त्रीय मापदण्ड को उपयुक्त अवलम्बन गरिनुपर्छ , अनि मात्र उचित गुणस्तरको औषधि उत्पादन भइ सुरक्षित तबरले रोगीको रोग निको पार्न औषधि प्रभावकारी सिद्ध हुन्छ ।
हालको परिप्रेक्षमा प्रायः आयुर्वेद औषधि उत्पादन गर्दा भने हितकर पदार्थ को प्रयोग औषधि उत्पादनमा गरिएको भने विरलै पाइन्छ । यसमा न कुनै औषधि उद्योगकर्ताको चासो देखिन्छ न त सम्बन्धित विभागको नै चासो देखिन्छ । औषधि उद्योगकर्ता सम्बन्धित विषयमा पोख्त व्यक्तिको निर्देशनमा रही औषधि उत्पादन गर्नुपर्छ भन्ने कुरालाई मौखिक रुपमा स्वीकार्छन् तर व्यवहारिक रुपमा औषधि उत्पादन गर्दा भने विभिन्न बहाना देखाई आफुले हुनुपर्ने जसो नै गरी मिसावटयुक्त पदार्थ वा अहितकर पदार्थको प्रयोग गरिएको पाइन्छ । सम्बन्धित विभागको चासो औषधिको गुणस्तर, सुरक्षितता र प्रभावकारीतामा सदैव भएको पाइन्छ तर जब बजारमा उपलब्ध तिनै विभागबाट स्वीकृति प्राप्त आयुर्वेद उद्योगको एकै बनावटका शास्त्रीय औषधिमा एकरुपता र एकै गुणस्तरका देखिन्नन् तब ति सम्बन्धित विभागको चासो औषधिको गुणस्तर, सुरक्षितता र प्रभावकारीतामा हुँदै नभएको र भएको भए पनि मौखिक रुपमा नै सिमित रहेको झल्किएको अनुभूति हुन्छ ।
एकै शास्त्रीय बनावटका औषधि बजारमा आधिकारिक आयुर्वेद औषधि उध्योगैपिच्छे अलग अलग गुणस्तरका हुनु सम्बन्धित विभागको अनुगमन र उपयुक्त मापदण्डमा हेलचेक्राइ रहेको बुझ्नु हाम्रो बाध्यता रहिआएको छ । आधिकारिक आयुर्वेद औषधि उद्योगद्वारा उत्पादित एकल पदार्थले मात्र बनेका आयुर्वेद औषधि जस्तै शुद्ध शिलाजित, अश्वगन्धा चूर्ण, आमलकि चूर्ण, यष्टिमधु चूर्ण आदि औषधि मै त गुणस्तरमा एकरुपता छैन भने एकभन्दा बढी पदार्थले बनेका मिश्रित आयुर्वेद औषधि जस्तै अविपत्तिकर चूर्ण, च्यवनप्राश अवलेह, योगराज गुग्गुलु, जात्यादि तेल आदिको गुणस्तरमा एकरुपता नआउनु सामान्य नै मान्नुपर्छ । औषधिको कुनै पनि रोगमा सुरक्षितता र त्यसको प्रभावकारीता त्यहि औषधिको गुणस्तरमा निर्भर रहने कुरा हो । आयुर्वेद औषधि उद्योगमा शास्त्रीय आयुर्वेद औषधि उत्पादनको लागि यसमा हुने घटक द्रव्य, परिमाण, विधि तथा विशिष्ट रोगको सन्दर्भ ग्रन्थका रुपमा भैषज्य रत्नावाली, शारङ्गधर संहिता, रसरत्नसमुच्चय, रसतरंगिनी, सिद्ध योग संग्रह आदि जस्ता शास्त्रीय ग्रन्थको प्रयोग गरिन्छ भने यी औषधि उत्पादन गर्नको निमित्त घटक द्रव्य पहिचानको लागि भावप्रकाश निघण्टु, द्रव्यगुण विज्ञान, चन्द्रनिघण्टु जस्ता शास्त्रीय ग्रन्थको प्रयोग गरिन्छ । घटक द्रव्य तथा शास्त्रीय औषधि को पहिचान, निर्माण विधि, सुरक्षितता र प्रभावकारीता एवं गुणस्तर परीक्षण प्यारामिटर, विधि तथा मापन सीमा सहित सम्पूर्ण विवरण (मोनोग्राफ) को उल्लेख आयुर्वेद फर्माकोपिया अफ इन्डिया मा पाइन्छ जसलाई नेपालमा सम्बन्धित विभागले समेत आयुर्वेद औषधिको सन्दर्भ ग्रन्थको रुपमा मान्यता दिएको छ ।
नेपालमा कुनै पनि औषधि उद्योगले शास्त्रीय औषधि उत्पादन तथा बिक्रिवितरण गर्नुपूर्व सम्बन्धित विभागद्वारा स्वीकृति लिएर मात्र गर्नुपर्छ । त्यसको लागि औषधि उद्योगले माथि उल्लेखित शास्त्रीय ग्रन्थलाई सन्दर्भ ग्रन्थको रुपमा चयन गरी सोहि सन्दर्भ ग्रन्थ अनुसार औषधि उत्पादन गर्ने र गुणस्तरमा एकरुपता ल्याउने प्रतिबद्धता सहित सम्बन्धित विभाग समक्ष निवेदन दरखास्त पेश गर्छन् र सम्बन्धित विभागले सोहि अनुसार शास्त्रीय औषधिको उत्पादन तथा बिक्रिवितरणको लागि स्वीकृति दिन्छ । अझै पनि कतिपय आयुर्वेद औषधि उद्योगमा शास्त्रीय औषधि उत्पादन गर्दा सन्दर्भ ग्रन्थभन्दा अलग घटक द्रव्य, परिमाण र विधि अपनाई गरिएको भेटिन्छ । हात्तिको दुइ वटा दाँत भनेझैं औषधिको बाहिरी लेबल र सम्बन्धित विभागमा पेश गरिएको कागजातमा शास्त्रीय ग्रन्थ अनुसार तयार गरेको देखाउने तर व्यवहारीक रुपमा मिसावट जन्य पदार्थको उपस्थिति, अनावश्यक प्रयोज्य अङ्गको प्रयोग, स्वनिर्मित औषधि उत्पादन विधि अपनाई औषधि उत्पादन गरिन्छन् जसको परिणाम स्वरुप आयुर्वेद औषधिको गुणस्तरमा कमी देखिएको छ । शास्त्रमा उल्लेखित घटक द्रव्य, परिमाण र विधि अनुसार तयार गरिएको आयुर्वेद औषधि उच्च गुणस्तरको एवं सुरक्षितता र प्रभावकारीतामा समेत उच्च भएको तथ्य भारतका आयुर्वेद विश्वविद्यालयद्वारा वैज्ञानिक अनुसन्धानबाट पुष्टि भइसकेको छ ।
आयुर्वेद औषधि उद्योगले मिसावट जन्य पदार्थको प्रयोग, अनावश्यक प्रयोज्य अङ्गको प्रयोग तथा स्वनिर्मित औषधि उत्पादन विधि अपनाइएको तथ्य झल्किने विभिन्न आधार छन् । उदाहरणको लागि आयुर्वेदको शास्त्रीय ग्रन्थमा तेल निर्माणको क्रममा कल्क, स्नेह र द्रवद्रव्यको प्रयोग गरी मन्दाग्नि र मध्यमाग्निमा तेल पाक गर्ने विधि तय गरिएको छ तर औषधि उद्योगमा यो विधि अपनाइएको विरलै पाइन्छ । शिलाजित शुद्धिकरणमा पनि उपयुक्त विधि अपनाइएको पाईदैन । सबैभन्दा साधारण औषधि अविपत्तिकर चूर्ण मा शास्त्रअनुसार घटक द्रव्यको रुपमा १३ वटा पदार्थ पर्छन् – हर्रो, बर्रो, अमला, शुठो, मरिच, पिप्ला, मोथे, सुकुमेल, तेजपात, वायुविडंग, ल्वाङ्ग, निशोथ र चिनी । यीमध्ये औषधि उद्योगमा अविपत्तिकर चूर्ण उत्पादन गर्दा सुकुमेल को ठाउँमा अलैंची, ल्वाङ्गको सुकेको कोपिलाको ठाउँमा सुकेको ल्वाङ्गको डाँठ, निशोथको परिमाणमा कमी वा निशोथ नै नहाल्ने एवं त्रिफलामा बियाँरहित फलको ठाउँमा बियाँसहित फलको प्रयोग गरिएको देखिन्छ जुन शास्त्रभन्दा बिल्कुलै अलग छ । यिनै अनावश्यक परिमार्जनको फलस्वरुप एकै नामका शास्त्रीय औषधि उद्योगैपिच्छे अलग अलग रङ्ग, स्वाद र गुणस्तरका भएका तथा सम्बन्धित रोगमा प्रभावकारी नभएका गुनासो आयुर्वेद व्यवसायी देखि उपभोगकर्ता सम्ममा भेटिन्छन् । यस्ता उदाहरण अनगिन्ति भएकाले सम्बन्धित विभागले आयुर्वेद औषधि प्रति चासो नदेखाएको अनुभूति हुन्छ ।
शास्त्रीय औषधिका गुणस्तरमा सुधार गर्नुपर्ने विषयमा सम्बन्धित विभाग र औषधि उद्योगकर्तालाई ध्यानाकर्षण गराउँदा उनीहरु गुणस्तरीय विधि तथा मापन यन्त्रको कमी, जनशक्तिको अभाव, उच्च गुणस्तरीय पदार्थको अभाव, गुणस्तरीय पदार्थमा महँगाई, मापदण्डको कमी जस्ता विभिन्न बहाना देखाई टार्न खोज्छन् । यदि ति नै यथार्थ कारण हुन् भने नेपालमा रहेको एकमात्र सरकारी स्वामित्वको औषधि उद्योग सिंहदरबार वैद्यखाना विकास समिति जसको गुणस्तर शास्त्र अनुसार नै मेल खान पुग्छ उक्त उद्योगबाट उत्पादित शास्त्रीय औषधि कसरी गुणस्तरयुक्त सम्भव भए त ? आजकल सबै आयुर्वेद औषधि उपभोक्ताको पहिलो रोजाइमा सिंहदरबार वैद्यखाना विकास समिति पर्छ , त्यसको एकमात्र कारण भनेको उच्च गुणस्तर नै हो । त्यसैले पनि कतै यो लोप होला कि भन्ने चिन्ता आयुर्वेद औषधि उपभोक्ता एवं आयुर्वेद प्रेमीका मनमा खड्किन्छन् । गुणस्तरीय आयुर्वेद औषधि उत्पादन गरी सुरक्षित तबरले रोगमा प्रभावकारी बनाउने उद्येश्य राखि हाल सम्बन्धित विभागले आयुर्वेद औषधि कुशल उत्पादन अभ्यास संहिता जस्तो उपयुक्त मापदण्ड तयार गरी यसै आर्थिक वर्षसम्ममा प्रकाशन गरेर सम्पूर्ण आयुर्वेद औषधि उद्योगमा लागु गर्ने कार्यनीति तयार गरेको छ । साथै शास्त्रीय औषधिको घटक द्रव्यमा एकरुपता, गुणस्तरमा समानता एवं एक उद्योगका पेटेन्ट र प्रोप्राइटरी औषधि र लेबल डिजाइन अर्को उद्योगले मिसब्राण्ड गर्न नसकोस् भन्ने उद्येश्यले आयुर्वेद औषधिमा डिजिटल प्रणाली (ड्याम्स) लागु गर्न कार्यनीति तयार गरेको छ । सम्बन्धित विभागले आयुर्वेद फार्मेसी विषयमा दक्ष तथा विज्ञ जनशक्तिको उपयोगमा वा उक्त जनशक्तिको सम्वनयमा यस्ता कार्यनीति सफल बनाउन सकेमा उपयुक्त गुणस्तरका आयुर्वेद औषधि उत्पादन नेपालका हरेक आयुर्वेद औषधि उद्योगबाट हुन सक्नेछन् ।